दोलखामा भेटियो दुर्लभ किङ कोब्रा

 आवाज अनलाइन     २१ असार २०७५, बिहीबार

दोलखा, असार २१
विश्वमा नै दुर्लम मानिएको किङ कोब्रा अर्थात राज गोमन सर्प दोलखामा भेटिएको छ । गौरीशंकर गाउँपालिकाको साविक खारे गाविसको जंगलमा उक्त दुर्लभ प्रजातिको सर्प भेटिएको हो ।
जिल्लाको गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत पर्ने सिप्रिङ खोलासँगैको खारेको जंगलमा भेटिएको उक्त सर्प किङ कोब्रा भएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण साहले पुष्टि गरेका छन् । .‘खारे’ वन क्षेत्रमा बच्चा कोरल्न अण्डाको सुरक्षा गरिरहेको अवस्थामा राज गोमन फेला परेको आयोजनाका प्रमुख साहले जानकारी दिए ।
सामान्यतः नेपालको तराई र भित्री मधेशका वन जंगल, खेत खलियान र गाउँबस्ती आसपासका क्षेत्रमा पाइने गरेको राज गोमन सम्भवतः पहिलो पटक दोलखाको उत्तरी क्षेत्रमा फेला परेको गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
नेपालको तराइका पनि एकादुई ठाउँमा देखिएको र विश्वकै दुर्लभ मानिने किङकोब्रा अर्थात राजगोमनको संख्या अरु पनि हुन सक्ने अशंकाले उक्त क्षेत्रमा मानिसको प्रवेशमा रोक लगाइएको आयोजना प्रमुख साहले बताए ।
स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति, लामबगरका सचिव यादब प्रसाद आचार्यले वन क्षेत्रमा आफ्ना बाख्राको खोजी गर्ने क्रममा पहिलोपटक राज गोमनको गुँड भेटी संरक्षण क्षेत्र आयोजनालाई जानकारी गराएकोमा पुनः सो स्थानमा संरक्षण क्षेत्र आयोजनाको टोलीले भ्रमण गरी सो प्रजाति राजगोमन भएको पुष्टि गरेको बताए ।
खारे जंगलान अन्दाजी १०–१२ फिट लम्बाई रहेको सो सर्पले करिब १ मिटर व्यास र करिब ४० से.मी. अग्लो पत्करहरूको थुप्रो बनाई फुल पारी त्यसको सुरक्षाको लागि पहरा दिइरहेको अवस्थामा पोथी गोमन भेटिएको र भाले किङ कोब्रा पनि सो क्षेत्रमा हुनसक्ने भएकोेले संरक्षण क्षेत्रको मुख्य कार्यालयबाट अनुसन्धान सुरु गरिएको बताइएको छ ।
समुन्द्र सतहबाट १२७८ मिटरको उचाइमा रहेको तामाकोशी नदीको नजिकैको ’खारे’ वन क्षेत्रमा सो सर्प भेटिएको छ । प्रमुख रुपमा चिलाउने, कटुस वन, फलाँट, मौवा, वाँझ जस्ता बोटविरुवा पाइने भएकाले यो क्षेत्रका मानिसहरुले घाँसपात गर्ने तथा घरपालुवा जनावरको चरण क्षेत्र पनि हो । तथापि उक्त क्षेत्रमा मानिसहरुको आवागमनका चिन्हहरु रहेको, बस्तुभाउहरुको चरिचरण हुने गरेको, घोरल र मृग लगायतका ठूला स्तनधारी जनावरहरुको उपस्थिति रहेको भए पनि गोमनको डसाइको घटना अहिलेसम्म नहुनुले सो क्षेत्रमा गोमनको उपस्थितिलाई सामान्य घटनाको रुपमा लिनु पर्ने हुन्छ ।
अत्यन्तै लजालु र सामान्यतया मानिसहरुलाई आक्रमण नगर्ने प्रकृतिको यो किङ कोब्राको वैज्ञानिक नाम अफियोफगस हान्नाः Ophiophagus hannah हो । ग्रिक भाषाबाट आएको यो वैज्ञानिक नामको अर्थ ‘रुखमा बस्ने र सर्प खाने’ भन्ने हुन्छ । त्यसैले यसका प्रमुख आहारामा अन्य सर्पहरू र साना स्तनधारी प्राणी तथा चराचुरुङ्गीहरु पर्दछ । खानाको चरम अभावमा यसले अन्य गोमन सर्प समेत खाने गर्दछ । यो सर्प नेपालका अतिरिक्त भारत लगायत दक्षिणपूर्व एसियामा पाइन्छ ।
सामान्यतया मनसुनको समयमा प्रजनन गर्नेे यो सर्प झट्ट हेर्दा भयंकर देखिने तथा सर्पहरु मध्ये सर्वाधिक ठुलो र विश्वमै अत्यधिक क्षमताको विष भएको सर्प हो । विज्ञहरुको अनुसार यसको औषधी समेत विरलै पाइन्छ ।

तर यसअघि दोलखाको जिरीमा रहेको नेपाली सेनाको गुल्ममा पनि किङ कोब्रा फेला परेको थियो । राजविराजबाट गुल्म जिरीमा सार्ने क्रममा सामानसँगै आएको अनुमान त्यसबेला गरिएको थियो । सो किङ कोब्रालाई सदर चिडियाखानामा सारिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF