लामुसाँघु–चरिकोट सडकको अवस्थाविरुद्ध व्यवसायी आन्दोलित

 आवाज अनलाइन     २५ असार २०७५, सोमबार

दोलखा, २५ असार
लामोसाँघु चरिकोट सडक निर्माणमा ढिलासुस्तीका कारण व्यवसाय ठप्प भएपछि दोलखाका उद्यमी व्यवसायी आन्दोलित भएका छन् ।
सडक विस्तारको काम ढिलाइ र अलपत्र हुँदा दोलखाको व्यवसाय ठप्प भएपछि व्यवासायीहरु आन्दोलित भएका हुन् ।
सडकको दुरावस्थाका कारण मानिसहरु आवातजावत र निर्माण सामाग्री ढुवानीमा समस्या भएपछि दोलखाको होटल व्यवसाय तथा पर्यटन व्यवसाय चौपट भएको छ । पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप हुने गरेकोमा पछिल्लो समय सडककै कारण व्यापार व्यवासाय ठप्प प्रायः छ ।
पर्यटकको चापका कारण खचाखच हुने चरिकोटका होटल तथा लजहरु समेत खाली भएका छन् भने बजार तथा पर्यटकीय क्षेत्रहरु सुनसान हुन थालेका छन् । सडक विस्तारका क्रममा भएको लापरवाहीका कारण ठप्प हुँदै गएको चरिकोटको व्यापार व्यवसाय वर्षा याम सुरु भएपछि झन चौपट बनेको हो । सडकको अवस्थाका कारण आफ्नो व्यापार व्यवसाय चौपट भएपछि व्यवसायीहरु सडक शीघ्र निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलन स्वरुप दोलखा उद्योग वाणिज्य संघले सोमबार लामोसाँघु–जिरी सडकमा आवतजावत सहज बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । दोउवा संघका अध्यक्ष सुन्दर कार्कीको नेतृत्वमा गएको उद्योग वाणिज्य संघको टोलीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।
दोलखा जिल्लाको प्रमुख प्रवेशमार्ग लामोसाँघु जिरी सडकखण्ड विस्तार कार्यमा भएको चरम लापरबाहीका कारण जिल्लाबासी सास्ती भोग्दै आएका छन् । आवातजावतको सहज व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष कार्कीले बताए । सडककै कारण पर्यटन क्षेत्र समेत प्रभावित हुँदा सिङ्गो जिल्लाको आर्थिक गतिविधि ठप्प भएको उनले बताए ।
सडकको दुरावस्थाका कारण मालसामान ढुवानीमा समस्या पर्नुका साथै मालवाहक सवारीका साधन घण्टौँसम्म बाटोमै रोकिने र आइपुग्न ३ दिनसम्म लाग्ने गरेको छ । ढुवानी अवधी लम्विएपछि दैनिक उपभोग्य सामाग्रीको मुल्य समेत बढेको छ । बर्षायाम सुरु भएसँगै सडकभरि हिलो र खाल्डाखुल्डीले यात्रा कष्टकर बन्नुका साथै डेढ घण्टाको दुरी पार गर्न ५ घण्टा लाग्ने अवस्था छ ।
ज्ञापनपत्र मार्फत लामोसाँघु जिरी सडक खण्डमा एम्वुलेन्स तथा साना सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नहुँदा विरामी तथा सर्वसाधारण बढी मर्कामा परेको भन्दै सडक विस्तारको काम समयमै सम्पन्न गर्ने वातावरण बनाउन प्रजिअ मार्फत सरकार र सम्बन्धित निकायको ध्यनाकर्षण गराइएको छ ।
लामोसाँघु जिरी सडक खण्डमा आवातजावत सहज बनाउन माग गरेको उद्योग वाणिज्य संघले १० दिनभित्र माग पूरा नभए नेपाल सरकार, सडक विभाग, सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनी र परामर्शदाता कम्पनीविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । साथै संघले चरम लापरवाही गरी समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसलाई नियमन गर्न नसक्ने सरकारी निकायको कार्यशैलीप्रति भत्र्सना गरेको छ ।
संघले खाडीचौर–चरिकोट सडकमा वर्षा याममा सहज आवातजावत गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने, सडकलाई खाल्डाखुल्डी र हिलो मुक्त बनाउनुपर्ने, पहिरो जानसक्ने सम्भावित क्षेत्रहरुमा २४ सै घण्टा डोजरको व्यवस्था गर्नुपर्ने, सडक निर्माणको काम सम्पन्न हुने मिति र समय तत्काल ग्यारेन्टी गर्नुपर्ने तथा चरिकोट–दोलखा र दोलखा–सिंगटी सडक विस्तारको काममा भएको लापरवाही छानविन गरी समयमै निर्माण सम्पन्न गर्ने वातावरण तयार गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।