बोलेरो दुर्घटनामा गाडीधनीकै मृत्यु

 आवाज अनलाइन     २ श्रावण २०७५, बुधबार

दोलखा, साउन २

भीमेश्वर नगरपालिका वडा नं ४ जिलुमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिलूबाट आज बिहान करिब ६ बजे चरिकोट आउने क्रममा बा १६ च २९५८ नं को बोलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएका जिलु निबासी चेतप्रसाद सापकोटाको दोलखा सामुदायिक अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चरिकोट आउने क्रममा बोलेरोको ब्रेक फेल भई करिब १५ मिटर तल खस्दा चालक र गाडी धनीसमेत रहेका ५५ वर्षीय चेतप्रसाद गम्भीर घाइते भएका थिए । गाडीमा सवार उनकै परिवारका अन्य ५ जना भने सकुसल रहेको बताइएको छ ।
गम्भीर घाइते भएका चेतप्रसादलाई दोलखा सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरी काठमाडौँ लैजाने तयारी भए पनि मौसमका कारण हेलिकप्टर आउन ढिला भएपछि उनलाई काठमाडौँ लैजान सकिएको थिएन । उपचारमा संलग्न डाक्टर रेमकुमार राईका अनुसार चेतप्रसादको छातीको दुबै तर्फको करङहरु ठाउँठाउँमा भाँचिएका थिए । भाँचिएको करङले फोक्सोलाई च्याप्दा उनको अवस्था झन गम्भीर भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।