नापी कार्यालय दोलखा अब आफ्नै भवनमा

 आवाज अनलाइन     २ श्रावण २०७५, बुधबार

दोलखा, साउन २

वर्षौँदेखि भाडाको घरमा बस्दै आएको नापी कार्यालय दोलखाले अब आफ्नै घरबाट सेवा दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नजिकै रहेको नवनिर्मित कार्यालय भवनमा कार्यालय सार्नका लागि आज विधिवत् पूजापाठ गरिएको छ । यही साउन ६ गतेदेखि नापी कार्यालयले सेवाग्राहीहरुलाई नवनिर्मित कार्यालय भवनबाट नियमित सेवा दिने नापी कार्यालय दोलखाका कार्यालय प्रमुख रामकुमार बस्नेतले जानकारी दिए ।
कूल १ करोड ६३ लाखको लागतमा नेपाल सरकारद्वारा निर्मित उक्त भवनमा वेसमेन्ट बाहेक ३ तला रहेका छन् । कार्यालयीय प्रयोजनसँगै स्टाफ क्वाटर समेत सोही भवनमा रहेको छ । २ हजार वाटको सौर्य प्रणालीसमेत जडान गरिएको उक्त नवनिर्मित कार्यालयमा नियमित तथा अनियमित लोडसेडिङका बेला पनि सेवाग्राहीलाई सेवा दिन बाधा नपर्ने कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।
नवनिर्मित कार्यालय भवनको शुभारम्भको अवसरमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कार्यालय परिसरमा वृक्षरोपण समेत गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF