दोलखा मालपोतमा सेवाग्राहीको काम ठप्प

 आवाज अनलाइन     ३ श्रावण २०७५, बिहीबार

दोलखा, साउन ३

मालपोत कार्यालय दोलखामा कार्यरत सहायक कम्प्युटर अपरेटरहरुले आफूहरुले गर्दैआएको काम आज दिउँसोदेखि अचानक छोड्दा सेवाग्राहीहरुको काम ठप्प भएको छ ।
सहायक कम्प्युटर अपरेटर अस्थायी करार पदमा कार्यरत दुईजनाले आज दिउँसोदेखि काम छोड्दा १२ जना बढी सेवाग्राहीहरुको काम रोकिएको मालपोत कार्यालयका प्रशासन प्रमुख मुरारि दुलालले जानकारी दिए ।
मालपोत कार्यालयका स्थायी कम्प्युटर अपरेटर केशव थापा काठमाडौँमा काजमा रहेको छन् । अस्थायी करारमा रहेका सहायक कम्प्युटर अपरेटरहरुको यही साउन १ गतेबाट नवीकरण नहुने भएपछि उनीहरुले आजै दिउँसोबाट काम छोडेका कारण सेवाग्राहीको काम ठप्प भएको हो । अस्थायी करारमा अर्जुनप्रसाद चौलागाई र ममता खड्का कार्यरत थिए ।
हाल काठमाडाँैमा रहेका मालपोत कार्यालय दोलखाका कार्यालय प्रमुख गोविन्द अधिकारीले ‘दरबन्दी नवीकरण नहुने भो’ भन्ने जानकारी गराएसँगै आज दिउँसोबाट उनीहरुले काम छाडेको प्रशासन प्रमुख दुलालले बताए ।
नेपाल सरकारले सरकारी कार्यालयमा कम्प्युटर अपरेटरको अस्थायी दरबन्दी नराख्ने र हालको स्थायी दरबन्दी पनि सो दरबन्दीमा कार्यरत कर्मचारीको अवकास सँगै खारेज हुने निर्णय गरेको छ ।
स्थायी दरबन्दीको कर्मचारी काजमा गएको र अस्थायी करारले काम छोडे पछि दोलखा मालपोतमा जनताको काम रोकिएको छ । कम्मप्यटर अपरेटरको अभावमा कार्यालयमा मोठ भिडाउने काम, जग्गा रोक्का र फुक्का गर्ने काम तथा पुर्जा बनाउने काम रोकिने प्रशासन प्रमुख दुलालले बताए ।
आफ्ना ३ छोराहरुलाई अंशबण्डा गरिदिन आएका दोलखाको पूर्वी दुर्गम साविक मार्बु गाविसका पेमनिमा शेर्पाले आफ्नो काम रोकिएकोमा दुःख मान्दै भने, ‘अब दुःख पाइने भो, कति दिन लाग्ने हो, हेरौँ ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।