बोलेरो दुर्घटनामा १ को मृत्यु, दुई घाइते

 आवाज अनलाइन     ८ श्रावण २०७५, मंगलवार

दोलखा, साउन ८

चरिकोटबाट काठमाडौँतर्फ गैरहेको बा १९ च ५४२० नं को बोलेरो तामाकोशी गाउँपालिकाको भिरकोट माझीगाउँमा दुर्घटना हुँदा जिल्ला समन्वय समितिमा कार्यरत नासु मनहरि थापाको मृत्यु भएको छ ।
भिरकोट माझीगाउँको घुम्तीबाट अनियन्त्रित भै करिब २ सय मिटर तल खसेर भएको दुर्घटनामा भीमेश्वर नगरपालिका ७ मकैबारी घर भएका करिब ५५ वर्षीय मनहरि थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
घटनामा जिल्ला समन्वय समितिकै इन्जिनियर नारायण शिवाकोटी र चालक कर्णबहादुर कुसुले घाइते भएका छन् । घाइते इन्जिनियर शिवाकोटीलाई किर्नेटारस्थित अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि रामेछाप सामुदायिक अस्पतालमा लगिएको र त्यहाँ थप उपचार गरी काठमाडौँ रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । उनको एउटा हात भाँचिएको र टाउकोमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था खतरामुक्त छ ।
घाइते चालक कुसुलेको किर्नेटारस्थित अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।