सिन्धुपाल्चोक कारागारमा ६ गुना बढी बन्दी

 आवाज अनलाइन     ९ श्रावण २०७५, बुधबार

सिन्धुपाल्चोक, साउन ९

सिन्धुपाल्चोक जिल्ला कारागारमा १५ जना महिला कैदीका लागि बनाइएको कारागार भवनमा ८५ जना बन्दीहरु राखिएका छन् ।
कारागार विभागका महानिर्देशक हरि मैनालीले मंगलबार जिल्ला कारागार सिन्धुपाल्चोकको अनुगमन गर्ने क्रममा १५ जनाको लागि बनाएको उक्त कारागारमा ८५ जना बन्दीहरु रहेको पाइएको हो ।
२०७२ सालको भूकम्प जानु अगाडि निर्माण गरिएको उक्त भवन निर्माण सम्पन्न नहुँदै भूकम्पले क्षति पु्र्याएपछि उक्त भवनलाई मर्मत गरी ८५ जना कैदी राखिएको छ । महिला कैदीहरुको लागि बनाइएको उक्त बन्दीगृहमा हाल ८५ जना पुरुष बन्दीहरु रहेको निमित्त जेलर नवराज सेनले जानकारी दिए । बन्दीको संख्या अत्यधिक रहेकोले विभिन्न समस्या रहेको उनले बताए ।
जिल्लाको बन्दीगृहका बारेमा जानकारी लिन सिन्धुपाल्चोक जिल्ला कारागार पुगेका कारागार विभागका महानिर्देशक मैनालीले बन्दीगृहमा बन्दहरुको संख्या बढी भए पनि सरसफाइको अवस्था सन्तोषजनक रहेको बताए । तर उनले तत्काल उक्त बन्दीगृहको ढलको व्यवस्था आवश्यक भएको बताए । उनले तत्काल बन्दीगृह र काार्यालय भवन बनाउनुपर्ने बताए । यसक्रममा उनले आफ्नो तर्फबाट जिल्लामा बन्दीगृह निर्माण तथा कार्यालय निर्माणको लागि समेत पहल गर्ने बताए । सिन्धुपाल्चोक जिल्लामा बन्दीगृह निर्माणको लागि प्रस्तावित जग्गाको समेत महानिर्देशक मैनालीले निरीक्षण समेत गरेका थिए ।
अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी उपरीक्षक माधव प्रसाद पोखरेल, कारागार व्यवस्था विभागका अधिकृत दीपक न्यौपाने लगायतको सहभागिता थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF