माथिल्लो तामाकोशीको शेयर अब काठमाडौबाट पनि, डिम्याट ऐच्छिक

 आवाज अनलाइन     १० श्रावण २०७५, बिहीबार

दोलखा, साउन १०

स्वदेशी लगानीमा निर्माण हुँदै गरेको बहुप्रतीक्षित माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा काठमाडौँबाट पनि शेयर आवेदन गर्न पाइने भएको छ ।
यसअघि दोलखा जिल्लाबाट मात्रै शेयरको लागि आवेदन दिन पाउने निर्णय भएकोमा काठमाडौँ बस्दै आएको दोलखाबासीहरुको सहजताका लागि अब काठमाडौँबाट पनि शेयर आवेदन गर्न पाउने निर्णय गरिएको हो ।
दोलखाका जनप्रतिनिधि, राजनीतिक दल र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका पदाधिकारीहरु, नेपाल विद्युत प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र नागरिक लगानी कोषका प्रमुखहरु सहितको सहभागितामा आज भएको छलफलले यस्तो निर्णय गरेको हो ।
काठमाडौँबाट दोलखाबासीको शेयर आवेदन संकलनका लागि नेपाल धितोपत्र बोर्ड पनि सहमत भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा बस्दै आएका दोलखावासीले शेयर आवेदन अवधिभित्र काठमाडौँमा तोकिएका बैँकहरुबाट शेयर भर्न पाउने भएका छन् भने दोलखाका ७४ वटै वडामा टोली खटाएर शेयर आवेदन भर्ने व्यवस्था मिलाइने भएको छ ।
बैँकिङ सेवा पुगिसकेका वडाहरुमा सोही बैँकमार्फत र बैँक नभएका वडाहरुमा घुम्ती संकलन केन्द्र र स्वयंसेवकहरु खटाइने प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए ।
शेयर आवेदन गर्नका लागि डिम्याट स्वेच्छिक गरिएको छ । तर ३ वर्षपछि शेयर कारोबार गर्नको लागि डिम्याट अनिवार्य भएकोले अहिले डिम्याट गर्दा राम्रो हुने नेपाल धितोपत्र बोर्डले सुझाएको छ ।
त्यसैगरी बैंक खाता पनि अनिवार्य नगरी रकम फिर्ता गर्ने प्रयोजनको लागि परिवारको कुनै इच्छाइएको सदस्यको खाता भए पुग्ने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
दोलखाको लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखावासीका लागि यही साउन १६ देखि भदौ १४ सम्म १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्दैछ ।

तस्विरः अपर तामाकोशी जलविद्युत कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठको फेसबुकबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF