कुटाइबाट आफ्नै पतिको मृत्यु

 आवाज अनलाइन     १७ श्रावण २०७५, बिहीबार

दोलखा, साउन १७

दोलखा जिल्ला जिरी नगरपालिका ३ मालीमा पत्नीको कुटाइबाट पतिको मृत्यु भएको छ । मालीका ५५ वर्षीया आङलुङ शेर्पाको कुटाइबाट उनका पति ५५ वर्षीय नाङगेल शेर्पाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार हिजो राती पतिपत्नीबिच मादक पदार्थ सेवन गरेका बेला झगडा भएको र कुटाकुट हुने क्रममा पत्नीले पतिको नाकमा मुड्की हानेकी थिइन् । पत्नीको कुटाइपछि नाकबाट रगत बगेका उनी आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।
‘श्रीमान्ले आफूलाई कुटेपछि आफूले पनि श्रीमान्लाई कुटेको’ आङलुङले स्वीकारेको प्रहरीले जनाएको छ । आङलुङलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । करिब १५ दिनअघि उनीहरुको छोराको पनि मृत्यु भएको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF