राप्रपा नेपाल र राप्रपाबीच एकीकरणको घोषणा

 आवाज संवाददाता     २८ असार २०७३, मंगलवार

काठमाडौं–कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको राप्रपाबीच एकीकरणको घोषणा गरिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकीकरणको घोषणा गरिएको हो।

संवैधानिक राजतन्त्र र हिन्दुराज्य हुनुपर्ने माग राख्दै आएको राप्रपा नेपाल र गणतन्त्र र धर्मनिरपेक्षतालाई स्वीकार गरेको राप्रपाबीच यही वर्षभित्र एकीकरण गरिसक्ने सहमति भएको हो। दुवै दलको साउन दोस्रो सातादेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा एकता प्रस्ताव लैजाने राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनाए। ‘यही साउन दोस्रोसातादेखि सुरु हुने दुवै पार्टीको केन्द्रीय समितिमा पार्टी एकता सम्बन्धी प्रस्ताव पारित गरिने छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने,‘दुवै पार्टी एकीकरणपछि केन्द्रीय समितिको संख्या ३ सय सदस्यीयसम्म हुनेछ।’

दुवैदलबीच एकता गर्न गठित वार्ता समितिले सहमति गरिसकेपछि केन्द्रीयस्तरमा एकताको घोषणा गरिएको हो। संघीयता र राजतन्त्रको विषयमा एकता महाधिवेशन गर्ने निर्णयलाई स्वीकार गर्ने सहमति भएको  छ भने दुवै दल मुलुकलाई हिन्दु राष्ट्र बनाउने विषयमा सहमत भएका छन्। एकतापछि राप्रपा नेपालले केन्द्रीय अध्यक्ष पाउने सहमति भएको छ भने राप्रपाले कार्यकारी अध्यक्ष पाउने सहमति भएको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।