तामाकोशीको शेयरमा स्थानीयको उत्साह

 आवाज अनलाइन     ३ भाद्र २०७५, आईतवार

दोलखा, भदौ ३

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनको शेयरप्रति स्थानीय जनाताको निकै उत्साही देखिएका छन् । दोलखावासीबाट एक अर्व ७५ करोड रुपैयाँ बराबरको शेयर माग भैसकेको छ ।
दोलखावासीेले पाउने १० प्रतिशत शेयर अर्थात एक अर्व ५ करोड ९० लाख रुपैयाँका लागि शेयर आह्वान गरेकोमा साउन महिनाभित्रै एक अर्व ७५ करोड रुपैयाँबराबरको शेयर माग भएको हो ।
काठमाडौँमा बस्ने दोलखालीका लागि साउन १६ गतेदेखि भदौ १ गतेसम्म र दोलखामा बस्नेको लागि साउन १६ गतेदेखि भदौ १४ गतेसम्म शेयर आवेदन गर्नका लागि समय निर्धारण गरिएको छ । काठमाडौँ बस्ने दोलखावासीका लागि पहिलो चरणमा साउन १६ गतेदेखि १० दिनको समय दिइएकोमा सो अवधिभित्र आवेदन गर्नेहरुको अत्यधिक चापका कारण दोस्रो चरणमा एक हप्ता समय थप गरिएको थियो ।
साउन ३१ गतेसम्मको तथ्यांक अनुसार जम्मा ८८ हजार ५ सय जनाले शेयरको लागि आवेदन गरेका छन् । सोबाट एक अर्व ७५ करोड रुपैयाँ संकलन भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको शेयर माग गर्नेमा काठमाडौँ बसोबास गर्नेहरु करिब ६९ हजार छन् भने दोलखा बसोबास गर्नेहरु करिब २० हजार रहेका छन् । काठमाडौँ बसोबास गर्नेहरुबाट एक करोड ४५ लाख रुपैयाँ र दोलखा बसोबास गर्नेहरुबाट ३० करोड रुपैयाँ संकलन भएको आयोजनाले जनाएको छ । काठमाडौँ बसोबास गर्नेहरुले औसत २१ हजारका दरले र दोलखा बसोबास गर्नेहरुले औसत १५ हजार रुपैयाँका दरले शेयर माग गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रभावित क्षेत्रका हिसाबले अति प्रभावित क्षेत्र अर्थात ‘क’ वर्गका दोलखाबासी मध्ये ६६ प्रतिशतले ‘ख’ वर्गकामध्ये ३० प्रतिशतले र ‘ग’ वर्गकामध्येबाट ३१ प्रतिशतले शेयर माग गरेको आयोजनाले जनाएको छ । आयोजना सञ्चालन हुने साविक लामाबगर र गौरीशंकर गाविसलाई अति प्रभावित अर्थात ‘क’ वर्ग, आयोजनाको प्रवेशमार्ग र प्रसारण लाइनले छोएका साविकका गाविस वा नगरपालिकाका वडाहरुलाई प्रभावित क्षेत्र वा ‘ख’ वर्ग र जिल्लाका बाँकी साविकका गाविसहरुलाई ‘ग’ वर्ग निर्धारण गरिएको छ । ‘क’ वर्गमा ४४३२, ‘ख’ वर्गमा करिब ८२ हजार र ‘ग’ वर्गमा करिब २ लाख जनसंख्या रहेको छ ।
आयोजनाका लागि शेयर माग गर्नेको संख्या र प्रवृत्ति उत्साहपूर्ण रहेको आयोजनाका प्रवक्ता न्यौपानेले बताए । ‘काठमाडौँको तुलनामा जिल्लाबाट आवेदन गर्नेहरुको संख्या कम हुनुमा जिल्लामा समय पर्याप्त हो’, प्रवक्ता न्यौपानेले भने, ‘गाउँगाउँमा संकलन भएका आवेदनहरु समावेश भएका छैनन्, यही प्रवृत्तिमा शेयर माग भए २ लाख बढीले शेयर आवेदन गर्छन् ।’
शेयर आवेदन संकलनका लागि काठमाडौँमा ११ वटा केन्द्रहरु राखिएका थिए भने दोलखा जिल्लामा २६ वटा केन्द्र राखिएका छन् ।
शेयर आवेदन फाराम भर्नका लागि जनतालाई सहयोग पु¥याउने उद्देश्यले आयोजनाको सहयोगमा सबै गाउँपालिका र नगरपालिकाका वडाहरुमा गरी १४८ जना स्वयंसेवकहरु खटाइएको छ । तर कतिपय वडाहरुमा ती स्वयंसेवकहरु नपुगेको गुनासो पनि आएको छ । आयोजनाका प्रवक्ता डा. न्यौपानेले त्यस्ता स्वयंसेवकहरु खटाउने जिम्मा गाउँपालिका तथा नगरपालिकाहरुलाई दिइएको र सोको रेकर्ड आइनपुगेको बताए ।
स्वदेशी लगानी र स्वदेशी व्यवस्थापनमा निमाणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरु लागत ३५ अर्व २९ करोड रहेकोमा विभिन्न कारणले लागत वृद्धि भई ४९ अर्व २९ करोड पुग्ने अनुमान आयोजनाको छ । आयोजनाको काम हालसम्म ९६ दशमलव ४ प्रतिशत सम्पन भैसकेको आयोजनाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।