सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी निर्णय

 आवाज संवाददाता     २८ असार २०७३, मंगलवार

२८ असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यससँगै ओली सरकार संकटमा गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्। स्रोतका अनुसार प्रचण्डले ‘मैले (सरकारलाई दिएको समर्थन फिर्ता लिने) निर्णय गरेँ’ भनेर पार्टीका नेताहरुले सन्देश पठाएका छन् ।

वनमन्त्री अग्नि सापकोटाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे ।

पार्टीका संसदीय दलका सचेतक हितराज पाण्डे र जनार्दन शर्माले प्रधानमन्त्री ओलीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । पत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि शुभकामना दिएको सचेतक पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रका नेताद्वय पाण्डे र शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषय राष्ट्रपति विद्या भण्डारीलाई पनि जानकारी गराएका छन् ।

यस्तै महासचिव कृष्णबहादुर महाराले सभामुख ओनसरी घर्ती मगरलाई जानकारी गराएका छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन

यसैवीच सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकरुपमा सार्वजनिक गर्न माओवादीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

साभार:अनलाइनखबर

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।