चितुवाको छालासहित ३ पक्राउ

 आवाज अनलाइन     ६ भाद्र २०७५, बुधबार

दोलखा, भदौ ६

दोलखा जिल्ला वैतेश्वर गाउँपालिका ४ मैनापोखरीबाट चितुवाको छालासहित ३ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।
दुर्लभ वन्यजन्तुको सूचिमा रहेको चितुवाको छालासहित वैतेश्वर गाउँपालिका ४ का ३४ वर्षीय प्रदीप गजमेर, जिरी नगरपालिका ९ का ३५ वर्षीय वेदबहादुर सुनुवार र जिरी नगरपालिका ९ कै ४८ वर्षीय नारद सुनुवारलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले प्रक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये प्रदीप गजमेर सुन कारोबारी, वेदबहादुर सामान्य कृषक हुन् भने नारद सुनुवार भुसुने सुँगुरे सामुदायिक वनका अध्यक्षसमेत हुन् ।
दुर्लभ सूचिमा रहेको चितुवाको छाला बेचबिखनको लागि बोकेर हिँडेको अवस्थामा विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । बेचबिखनको लागि बोकेर हिँडेका बेला चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिए पनि चितुवा मार्ने मुख्य मान्छे समेत पत्तो लागिसकेको प्रनाउ पाठकले जानकारी दिए ।
भुसुने सुँगुरे साुमदायिक वनका अध्यक्ष नारद सुनुवारका भिजानुले चितुवा मारेको खुल्न आएको प्रहरीले बताएको छ । नारदलाई उनका भिजानुले चितुवाको छाला बेच्नका लाग भनेपछि उनले पनि ग्राहक खोज्न साथी वेदबहादुर सहारा लिए । प्रहरीका अनुसार वेदबहादुरले पनि आफ्नो साथी प्रदीपको सहयोगमा बिक्री गर्न लाग्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानपछि जिल्ला वन कार्यालय दोलखालाई मुद्दा जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संरक्षित चितुवा मारिएको पुष्टि भएमा दोषीलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र एक लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ । वरामद भएको उक्त चितुवाको छाला ६ फिट लामो भएको प्रहरीले जानकारी दिएको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।