उत्कृष्ठ सहकारीको आफ्नै भवन शिलान्यास

 आवाज अनलाइन     ७ भाद्र २०७५, बिहीबार

दोलखा, भदौ ७

दोलखा जिल्लाको उत्कृष्ठ सहकारी मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको आज आफ्नै भवनको शिलान्यास गरिएको छ । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आज भवनको शिलान्यास गरेका हुन् ।

नेपालकै उत्कृष्ठमध्येको एक मिलिजुली साकोसले आफ्नो स्थापनाको रजत महोत्सवको अवसरमा ५ तले व्यवसायिक भवनको शिलान्यास गराएको हो । करिब साँढे ८ करोड प्रस्तावित लागत रहेको उक्त व्यवसायिक भवन ३ वर्षभित्र निर्माण गरिसक्ने संस्थाको लक्ष्य रहेको छ ।
२०५० भदौ ७ गते २५ जना सदस्यहरु र ५६ सय पूँजी लिएर सुरु भएको मिलिजुली साकोसको अहिले २५ हजार शेयर सदस्य र कूल पूँजी साँढे ८६ करोड पुगिसकेको संस्थाले जानकारी दिएको छ ।

२०६८ सालमा एक्सेस ब्राण्डको लागि प्रकृया सुरु गरेको मिलिजुलीलाई २०६९ मा राष्ट्रिय सहकारी बैङ्कले मध्यमाञ्चलको उत्कृष्ठ सहकारी घोषणा गरेको थियो । २०७१ मा नेप्स्कुनले नेपालकै उत्कृष्ठ सहकारी घोषणा ग¥यो । त्यसैगरी २०७१÷२०७२ मा आन्तरिक राजश्व कार्यालयले उत्कृष्ठ करदाताको सम्मान प्रदान गरेको थियो । २०७४ सालमा एक्सेसको ब्रोन्ज ब्राण्ड पाएको मिलिजुली साकोसले अहिले सिल्भर ब्राण्ड लिने तरखर गरिरहेको अध्यक्ष नारायणबहादुर श्रेष्ठले बताए ।

जिल्लाको सफल सहकारीहरुमा पर्ने मिलिजुली साकोसले बिहिवार २५ औ वर्ष समापनको अवसरमा भवन शिलान्यास तथा मिलिजुली स्मृति पुस्तक विमोचन लगायतका कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सहकारीमा सुशासन र पारदर्शिता हेर्न दोलखाका सहकारीहरु उदाहरण भएको बताए । मिलिजुली साकोसको भवन शिलान्यास गर्दै प्रदेश मन्त्री ढुङ्गेलले सहकारीहरुले अब ठूला उद्योग व्यवसायमा समेत लगानी गरेर सरकारको तीन खम्बे नीतिलाई सफल बनाउनुपर्ने बताए । महाभारत कालखण्डको हिस्सा, विदेशीले रुचाएको ठाँउ, जलश्रोत तथा पर्यटनको केन्द्र दोलखाको थप विकासको लागि सहकारीहरुले लगानी गर्नुपर्ने मन्त्री ढुङ्गेल जोड थियो । सो अवसरमा उनले २५ वर्षे स्मृति पुस्तक ‘मिलिजुली स्मृति’को विमोचन समेत गरेका छन् ।

कार्यक्रममा सांसद पार्वत गुरुङ, शान्ति पाख्रिन, पुर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई, विशाल खड्का, सरस्वती वस्नेत, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, नेफ्स्कुनका अध्यक्ष डिवि वस्नेत, नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका अध्यक्ष भीम दहाल, नेपाली कांग्रेस दोलखाका अध्यक्ष रुद्रबहादुर खड्का, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य सुर्दशन कार्की, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रजत महोत्सव समापनको अवसरमा दोलखाका सहकारी अभियन्ताहरु यज्ञराज ढुङ्गले, डीबी वस्नेत र गोकुलध्वज कार्की, मिलिजुली साकोसका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ तथा पूर्व अध्यक्ष गंगासागर श्रेष्ठ र कृष्णबहादुर दाहाललाई सम्मान गरिएको थियो ।

२०५० साल भाद्र ७ गते २५ जना सेयर सदस्यले स्थापना गरेको मिलिजुली साकोसमा अहिले बालबचत सहित झण्डै २५ हजार सदस्य, कूल वासलात ८६ करोड, ५४ लाख ५४ हजार ६ सय ९२ रुपैया, सेयर पुँजी ७ करोड १० लाख, बचत ५८ करोड ६७ लाख १ हजार ७ सय ७७ रुपैया र ऋण लगानी ७१ करोड १९ लाख, ५५ हजार ९ सय ७० रुपैयाँ रहेको मिलिजुली साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF