‘लामोसाँघु–चरिकोट सडक दश दिनमा सुधार गर्छौँ’ (प्रतिवद्धतासहित)

 आवाज अनलाइन     ७ भाद्र २०७५, बिहीबार

दोलखा, भदौ ७

अरनिको राजमार्गको खाडीचौरबाट दोलखा सदरमुकाम चरिकोटसम्म जोड्ने सडक ठेकेदारको लापरबाहीका कारण अलपत्र छ । सोही सडकका कारण काठमाडौँदेखि चरिकोट छिचोल्न चार घण्टाको बाटोलाई १० घण्टासम्म लाग्ने गरेको छ । तर आज जनप्रतिनिधिहरुको घेराबन्दीबिचबाट ठेकेदार, आयोजना र कन्सल्ट्यान्टले १० दिनभित्र सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज दोलखा सदरमुकाम चरिकोटमा दोलखा, रामेछाप र सिन्धुाल्चोकका जनप्रतिनिधिहरुले ¥याख¥याखती पारेपछि उनीहरुले १० दिनभित्र सडकको अवस्था सुधार गरी सवारी साधनहरुको सहज आवतजावतको व्यवस्था मिलाउने प्रतिवद्धता गरेका हुन् । उनीहरुले आयोजनाको शर्त र सम्झौता अनुसार काम नगरे कानुनअनुसार कारबाही भोग्न तयार रहेको पनि स्वीकार गरेका छन् ।
छलफलमा प्रदेश सरकारका मन्त्रीहरु कैलाश ढुङ्गेल, अरुण नेपाल र केशव स्थापित तथा दोलखाका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, प्रदेशसभाका सदस्य पशुपति चौलागाईँ, विशाल खड्का, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, दोलखाका पालिकाहरुका प्रमुख तथा उपप्रमुखहरु थिए । दोलखा र सिन्धुपाल्चोकका सुरक्षाप्रमुखहरु सहितको छलफल कार्यक्रममा खाडीचौर–चरिकोट सडक आयोजना प्रमुख केदार नेपाल, कन्सल्ट्यान्ट राजाराम काफ्ले र ठेकेदारहरुले विभिन्न बहाना देखाई समयमै काम गर्न आनाकानी गरेपछि सबैजसो जनप्रतिनिधिहरु उनीहरुबिरुद्ध ओइरिएका थिए ।
सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीहरुले आर्थिक अभाव र अन्य बहानामा सडक निर्माण कार्य ढिलो हुने संकेत गरेपछि सबै जनप्रतिनिधिहरु आक्रोसित भएका थिए । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले कुनै पनि बहानामा काममा ढिलाइ गरे कारबाही गर्ने चेतावनी दिए । प्रदेश पर्यटनमन्त्री अरुण नेपालले दशतिर देखाएर ठेकेदारहरु उम्कन नसक्ने चुनौती दिए । उनले ३० प्रतिशत काम गर्नेलाई ५० प्रतिशत भन्दा बढी भुक्तानी दिने सरकार प्रतिनिधिहरुको पनि मिलेमतो रहेको जिकिर गरे । प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितले सो सडक निर्माणको कामलाई अघि बढाउन आफूले मध्यस्थता गर्ने बताए ।
दोलखाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुले सडकको दुरावस्थाका कारण केहीले ज्यान गुमाएको र केहीले हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौँ लैजानु परेको दुःखद घटना सुनाए । तामाकोशी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेलले भने, ‘अब पनि सडककै कारण उपचार नपाएर कसैको मुत्यु भएमा यो सडकका ठेकेदारहरुले त्यसको जिम्मा लिनुपर्छ ।’ सो सडकको दुरावस्थाका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काममा प्रतिदिन डेढ करोड बढी घाटा भैरहेको प्रति पनि उनीहरुले रोष प्रकट गरे ।
दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधिहरुको आक्रोसपछि निर्माण व्यवसायीहरु १० दिनभित्र सडकको खाल्डाखुल्डी पुरेर सहज आवागमनको व्यवस्था मिलाउन राजी भएका हुन् । छलफलपछि गौरी पार्वती निर्माण सेवाका रामकुमार थापा, शंकर मालीका दीपक सापकोटा, सडक आयोजनाका प्रमुख केदार नेपाल तथा टिएमएस नर्थ स्टार कन्सल्टेन्सीका प्रमुख राजाराम काफ्लेले सो प्रतिवद्धता जनाएका हुन् ।
३ नं प्रदेशका प्रदेश सभा सदस्य सरेश नेपालले खाडीचौर–चरिकोट सडकको दुरावस्थाबारे प्रदेशसभामा विषय नोट गराएपछि प्रदेश सचिव रमेश शिवाकोटी सो विषयमा छलफल गराउन दोलखा सदरमुकाम चरिकोट आएका थिए । उनको पहलमा छलफल गरी १० दिनभित्र सो सडकलाई तत्कालीन रुपमा सवारी आवागमन गर्न मिल्ने बनाउन सहमती भएको हो ।
खाडीचौरदेखि चरिकोटसम्मको करिब ५४ किलोमिटर सडक दुई प्याकेजमा छुट्छुट्टै ठेक्का लगाई काम सुरु भएको थियो ।
पहिलो प्याकेजको काम गत अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा काम सकाउने गरी ठेक्का लगाइएको थियो । त्यसैगरी दोस्रो प्याकेजको काम २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक स्तरोन्नति कार्य सकाउने गरी ठेक्का लगाइएको थियो ।
सो सडक निर्माणमा ढिलासुस्ती भई सडकको अवस्था अत्यन्त नाजुक भएका कारण सिन्धुपाल्चोक, दोलखा र दोलखापूर्वका बासिन्दाहरुले विभिन्न सास्ती खेप्दै आएका छन् ।

dav

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF