स्थानीय तहबारे भ्रम र यथार्थ : कर्मचारीको अनुभव

 आवाज अनलाइन     ९ भाद्र २०७५, शनिबार

– सञ्जय नेपाल –

यसै वर्षको बैसाख महिनादेखि म निजामती सेवाको संघीय तहबाट स्वेच्छाले स्थानीय तहमा सरुवा माग गरी कार्यरत छु । समय छोटै भए पनि स्थानीय तहका केही तितामिठा अनुभवहरुलाई बाँडौ भनी यो लेख पस्किएको छु । प्रस्तुत लेखबाट म जस्ता हजारौं साथीहरु जो स्थानीय तहमा जानुभएको छैन, उहाँहरुलाई समेत स्थानीय तहको बारेमा रहेका भ्रम र यथार्थ बारे जानकारी प्राप्त हुनेछ भन्ने आशा गरेको छु ।
मेरो सरुवा हुँदा स्थानीय तहको केन्द्रमा प्रमुख प्रशासकीय अधिकृत बाहेक कोही निजामती कर्मचारी नभएको अवस्था थियो । पूर्व जिविसका कर्मचारीहरु समायोजन भई आएर कार्य सञ्चालन भएको अवस्था थियो । हामी संघबाट एकै पटक ३ जना नायव सुव्वा तथा एक जना शाखा अधिकृत खटिएर आएका थियौं । मेलम्चीलाई दुरीको हिसावले राजधानीको नजिक तर बाटोघाटोको हिसावले दुर्गम नै मान्नुपर्ने अवस्था रहेछ । पछि विस्तारै साथीहरु आउन थाल्नुभयो । अझै विषयगत शाखाहरुमा प्राविधिक कर्मचारीहरु आइपुगेका छैनन् ।
नगरपालिकाका निर्वाचित व्यक्तित्व अन्तर्गत रही काम गर्नुपर्ने हिसावले कर्मचारीहरुले आफुलाई सहज मान्नुपर्ने अवस्था रहेछ । संसदीय चुनावको अनुभव समेत हासिल गरीसकेका जिल्ला विकास समितिका पूर्व उपसभापति तथा जिल्लाका पुराना मध्येका नेता डम्वर बहादुर अर्याललाई नगरपालिकाले प्रमुखको रुपमा पाएको छ । त्यसैगरी सामाजिक तथा राजनैतिक क्षेत्रमा विशिष्ट पहिचान बनाउनुभएकी भगवती नेपाल उपप्रमुख हुनुहुन्छ । जिल्लाका १३ वटा वडामध्ये अधिकांश वडाअध्यक्षहरु विकास प्रेमी तथा कर्मचारी मैत्री रहेको पाइयो । यस हिसावले मेलम्ची नगरपालिकामा काम गर्ने सवालमा कर्मचारीमैत्री वातावरण छ भन्दा फरक नपर्ला ।
नगरपालिकामा सेवा प्रवेशका हिसावले तीन थरिका कर्मचारीहरु रहेछौं । साविक निजामती सेवाका, स्थानिय तहमा स्थायी नियुक्ती पाएका तथा अस्थाई नियुक्ती पाई अविच्छिन्न कार्यरत तथा नगरपालिकाले आफ्नो श्रोतमा नियुक्त गरेका करारका कर्मचारीहरु । यसरी तिन थरीका सहकर्मीहरुको काम गराई, बुझाई तथा कार्यशैली पनि तीनै थरीको हुंदो रहेछ । निजामती सेवाबाट आएका साथीहरु कार्यालय समय बाहेकको समय तथा सार्वजानिक विदाका दिनमा काम गर्न त्यती रुचाउने देखिएन । निजामती सेवा ऐन लगायतका कानूनले तोके बमोजिमको समय तथा दायित्व अनुसारको काम गर्न अभ्यस्त भएर पनि हुनसक्छ साथीहरुमा भित्रैदेखीको उर्जा नदेखिने । अह्राउंदा खटाउंदा समेत साथीहरु कार्यालय समय अघि तथा पछी त्यती उपलब्ध हुन नसक्ने । नगरपालिकाले आफ्नो श्रोतबाट प्रोत्साहन सुविधा प्रदान गर्दा पनि यस्ता निजामती साथीहरुको मनोवल बढेको देखिएन । वास्तवमा मनोवल भनेको भत्ता बढाएर मात्र हुने होईन भन्ने यसबाट समेत पुष्टी हुन्छ । अब्राहम मास्लोको आवश्यकता श्रंखला त्यसै स्थापित भएको होइन । आधारभुत आवश्यकता पुरा भएका साथीहरुलाई त्यस भन्दा माथिका आवश्यकताहरु बारे जानकार हुन सके यो समस्या समाधान हुने देखियो । कार्य वातावरणमा सुधार गरेर यस्ता अनुभवी कर्मचारीहरुबाट लाभ लिन सकिने देखिन्छ । पूर्व जिविसबाट खटिई आएका साथीहरुमा उदघोषण कला बढी हुंदो रहेछ । कार्यक्रम सञ्चालन गर्न, व्यवस्थापन गर्न, भाषण गर्न र सोही बमोजिमका कृयाकलापमा साथीहरु अव्वल हुंदा रहेछन् । यस्तो कार्य बढी राजनैतिक तथा गैर सरकारी संस्थाका कार्यक्रमहरु जस्ता देखिने गरे पनि नगरपालिकाबाट सम्पादन हुने त्यस्ता कार्यक्रममा ती साथीहरुलाई बढी खोजिंदो रहेछ । एक पटक नगरपालिकाको ४ सदस्यीय विषयगत समितिको वैठक राख्नु पर्ने भयो । संयोजक थिए एक जना वडाध्यक्ष । जम्मा ४ सदस्य भएको समितिको वैठक मैले सञ्चालन गर्नुपर्ने भयो । संघिय अड्डामा रहंदा यस्ता थुप्रै प्रकृतिका वैठक सञ्चालन गरियो । त्यसमा सामान्य औपचारिकता पुरा गरे पछि वैठक सञ्चालन हुन्छ र छलफल पश्चात निर्णय लेखिन्छ सकिन्छ । सामान्यतया सरकारी वैठकको अभ्यास यही नै हो । तर यहां फरक रहेछ । एउटा कोठामा सवैलाई आमन्त्रण गरेर वैठक सुरु गर्न लागेको संयोजक मान्दैनन् त । भरे कताबाट एउटा डायरी र कलम बोकेर एकजना सहकर्मी साथी आईपुगे र उनले कार्यक्रमका अध्यक्षज्यू …….. बाट उदघोषण गर्न थाले पछि वैठक सुरु भयो । अव ४ जना सदस्य रहेको विषयगत समिति जस्तो सानो समितिको वैठकमा समेत यस्ता औपचारिकताको ईच्छा राखिने देखे पछि मलाई चांही विचित्र लाग्यो । यस्तो राजनैतिक प्रकृतिको कार्यमा निजामती कर्मचारी अभ्यस्त हुदैनन् । नगरपालिकाको दक्षता अभिवृद्धिमा यसको कुनै भूमिका म देख्दिन । जननिर्वा्चित व्यक्तित्वहरुले यस्ता औपचारिक आडम्वरलाई सके सम्म कम गरे राम्रो ।
कार्यालयगत अभिलेख व्यवस्थापन, सेवा प्रवाह, विवरण संकलन तथा नियमित प्रतिवेदन लगायतका कार्यहरुमा चांही यस्ता साथीहरुको क्षमता औसत मै देखियो । एक पटक मैले जिज्ञासाबस गत महिनाको नगरको खर्चको फांटवारीको एउटा प्रिन्ट दिनु न भनी लेखा अधिकृतलाई माग्दा उनको उत्तरले म छक्क परें । उनले मैले त अहिलेसम्म देखेको छैन तपाईलाई कहांबाट दिनु भने । भन्नाको ताप्पर्य के भने केन्द्रिय लेखा व्यवस्था अन्तर्गतका लेखापालनका कृयाकलापहरुमा साथीहरुको चुस्तता देखिंदो रहेनछ ।
नगरपालिकाले आफ्नो श्रोतबाट करारमा राखेका तेश्रो थरी साथीहरुको क्षमता चांही तारिफ गर्न लायक देखियो । विहान, बेलुकी, सार्वजानिक विदा, केही नचाहिने जतिखेर पनि उपलव्ध हुने । काम गरी रहने । नछोड नभनुन्जेल सम्म काम गरिरहने । यस्ता साथीहरु प्रचलित विधि, कानून तथा कार्य्विधि पालनामा चांही कमजोर देखिए । कार्यालयको नियमित हाजिरी, पोसाक लगाउने सवाल तथा कार्यालयको श्रोत साधनको मितव्ययीता सम्बन्धमा चासो नगर्ने । त्यो काम त प्रमुख प्रशासकीय अधिकृतको मात्र हो भने जस्तो गर्ने ।
यस्ता विविध प्रकृतिका कर्मचारीहरु एकिकृत भएर कार्य गर्नुपर्ने भएकोले स्थानीय तहमा काम गर्ने कर्मचारीहरुबाट अधिकतम लाभ लिई तिनीहरुलाई प्रोत्साहित गरी उच्च मनोवलका साथ काम गरी समृद्ध नगर बनाउने सपना साकार पार्ने हो भने जननिर्वा्चित व्यक्तित्वहरुले, प्रमुख प्रशासकीय अधिकृतले तथा वडा सचिवहरुले निम्न कुराहरुमा ध्यान दिनु पर्ने देखिन्छ ।

१. जननिर्वाचितहरुले ध्यान दिनुपर्ने कुराहरुः

कर्मचारीको मनोवल भनेको भत्ता दिंदा मात्र बढ्ने होईन । उसको कार्यालय विन्यास, कार्य वातावरण, मसलन्द सामाग्रीहरुको उपलव्धता, सवारी साधनहरुको उपलव्धता, आवास सुविधा जस्ता कुराहरुले पनि उसको मनोवल तथा काम गर्ने जांगर बढाउंछ । नेपाल सरकारले खटाएर पठाएको हो, जहां वसे नि वसोस्, जे खाए नि खाओस भनेर हुन्न । ख्याल गरिनु पर्छ ।
अर्को कुरा निर्वा्चित व्यक्तित्वहरु निजामती कर्मचारीहरु प्रति अलि संदेह राख्ने, निकट हुन नचाहने जस्तो हो कि भन्ने देखिदो रहेछ । स्थानीय तहले राखेका करारका साथीहरुसंग निकट हुने जस्तो देखिदो रहेछ । कतिपय अवस्थामा यो सही पनि हो । निर्वा्चित नेतृत्वलाई हरदम सहयोग गर्न तयार स्थानीय तहमै स्थायी वतन भई सानै देखि निर्वा्चित व्यक्तित्वलाई चिनेका साथीहरुसंग आत्मीय सम्बन्ध हुनु अन्यथा होईन । मात्र के हो भने बढी भोटो फटाएका कारण ऐन, नियम, कानून तथा अनुभव भनेको पुराना साथीहरुमै हुन्छ । भोलीको गाह्रो साह्रो अवस्थामा भरथेग गर्ने यिनै हुन् भन्ने पनि विर्सन हुदैन ।

२. प्रमुख प्रशासकीय अधिकृतले ध्यान दिनुपर्ने कुराहरुः

प्रमुख प्रशासकीय अधिकृत भनेको मन्त्रालयको सचिव सरह हो । उ बास्तवमा कर्मचारीहरुको मुली हो, दुर्गममा रंहदा बस्दा अविभावक नै हो । प्रोत्साहन, प्रशंसा तथा कारवाही गर्ने उ नै हो । मुली भएकोले मातहतका सवै किसिमका साथीहरुको साह्रो गाह्रो बुझ्ने हुनु पर्छ । पूर्व जिविसमा काम गरी सकेको हाकीम भए सुनमा सुगन्ध नै हुन्छ । हाम्रो नगरमा हामी संगसंघै जस्तो आएका एक जना शाखा अधिकृत थिए । उनी विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भईसकेका अुनभवी कर्मचारी थिए । आएको ४ महिना नपुग्दै उनको सरुवा भईहाल्यो । सरुवामा उनको ईच्छा थियो होला, सरुवा गराए, गए । कर्मचारीको सरुवामा कुनै ठुलो कुरा पनि रहेन । तर नगरपालिकामा कार्यरत हुंदा उनको बसाई सन्तोषजनक हुन सक्यो कि सकेन भन्ने कुरामा प्रमुख प्रशासकीय अधिकृतको ध्यान जान सकेन । कार्यकाल भरी उनले आफ्नो कार्यकक्ष मातहतको कर्मचारीसंग सेयर गर्नु प¥यो । कम्प्युटर जस्तो आधारभुत सुविधा समेत समयमा उपलब्ध भएन । उनको शाखा अधिकृतको नेमप्लेट सम्म राख्न ध्यान दिईएन । नगरपालिकाले ५ स्थानमा घरभाडा लिंदा उनलाई आवासको लागि भनी एउटा कोठा लिन जरुरी ठानिएन । हेर्दा यी असाध्यै साना कुराहरु हुन् । तर वैज्ञानिक अव्राहम मास्लो यसैलाई प्रोत्साहनको मनोबलको आधारहरु मान्छन् । यस्ता साना कुराहरुलाई प्रमुख प्रशासकीय अधिकृतले नजरअन्दाज नगरिदिएको भए एक जना अनुभवी कर्मचारी सरुवा मिलाई हिंडदैन थिए की भन्ने मात्र हो । काठ्माण्डौ नजिकको नगरमा आजका मिति सम्म उक्त पदमा अर्को कोही आएको छैन । पहाडका प्रमुख जिल्ला अधिकारीहरु तराई झर्दा सहायकमा झर्छन । त्यसैगरी गाउं पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु नगरमा आउंदा शाखा अधिकृतमा झर्छन । यसको अर्थ द्धितिय पदमा झर्ना साथ एउटा अधिकृत स्तरको कर्मचारीको व्यवस्थापनमा हेलचेक्य्राई गर्न मिल्दैन । काम गर्ने त्यही व्यक्ति हो भूमिका र जिम्मेवारी अलि फरक हुने मात्र भएको कारण उसलाई पद अनुसारको व्यवस्थापन गर्नै पर्छ । अहिले नगरपालिकामा रहेका प्रमुख प्रशासकीय अधिकृत भोली उप महानगरपालिका वा महानगरपालिकामा गए भने उनीहरुलाई पनि यस्तै व्यवहार भए बस्छन् आनन्द ले ?
अर्को रमाईलो के छ भने संविधान र कानून बमोजिम त्यत्रो जिम्मेवारी लिएर बसेको वडा कार्यालयलाई चांही हेपाहा व्यवहार गरेको जस्तो दखिंदो रहेछ । कर्मचारी वैठकमा एक वडा सचिव मधुरो प्रिन्ट भएको पत्र देखाएर बोल्दै गर्दा किन यति मधुरो प्रिन्ट भनी सोध्दा उनीबाट प्रिन्टर टोनर सकिएको र त्यसलाई रिफिल गर्न रकम नभएको भन्ने जवाफ आयो । अव वडाको मसलन्दमा समेत आवश्यक बजेट विनियोजन गर्न नसकेको की नजानेको ? यसलाई कसरी बुझ्ने ? थाहा छैन ति साथीको प्रिन्टरको टोनर रिफिल भयो कि अझै उस्तै छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ को उपदफा २ ले प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रम र बजेट सहित खर्च गर्ने अख्तियारी वडा सचिवलाई दिनुपर्छ भन्ने व्यवस्था गरेको छ । तर अहिले सम्म यस्तो बजेट र अख्तियारी दिने तर्फ प्रमुख प्रशासकीय अधिकृतले कुनै चासो राखेको देखिदैन । नगरपालिका केन्द्रबाट २५ किमी सम्म टाढा रहेका वडाहरुबाट वडा सचिवहरु नगरपालिकामा काम लिएर आउंदा उनीहरुलाई बस्ने एउटा कोठा सम्म छैन । कार्यालयको काममा आउंदा समेत होटलमा बस्नु पर्ने अवस्था छ । त्यती टाढाबाट आउनेलाई यातायात खर्च त परै जाओस मोटरसाइकलमा हाल्ने ईन्धन समेत प्राप्त हुदैन । तर नगरपालिकाको दुईवटा सवारी साधन प्रत्येक सप्ताहन्तमा काठ्माण्डौ हुईकिन्छन् । नगरपालिकाले चांही खर्च गर्न हुने तर वडाले चांही खर्चमा मितव्ययिता अपनाउनु पर्ने यो चलनलाई प्रमुख प्रशासकीय अधिकृतले व्यवस्थापन गर्नु पर्छ ।

३. वडा सचिवले ध्यान दिनुपर्ने कुराहरुः

वडा सचिव पनि कमका छैनन । स्टाफ वैठकमा एउटा ना.सु. स्तरका वडा सचिवले मलाई जिन्सी दाखिला गर्न आउंदैन, त्यसको तालिम चाहियो भनी माग गरे । अव दश वटा मसलन्द सामान रजिस्टरमा दाखिला गर्न तालिम कै माग गर्ने लाई अरु के के मात्र तालिम दिने होला आफै कल्पना गरौं । कार्यालयको जिम्मेवारी पनि साथीहरु लिन चाहदैनन् । हप्तामा ३ दिन कार्यालय वसे भने देश प्रतिको ठुलो त्याग भई हाल्यो । वांकी दिन घर तिरै टाप । महिनामा एक दिन नगरपालिका आउन धौ धौ हुन्छ साथीहरुलाई ।
खासमा केही थान रजिष्टर फाईलमा विवरण भरी राख्ने तथा सो विवरणलाई कम्प्युटरमा दाखिला गरी अधिकांश प्रतिवेदनहरु सोही कम्प्युटरबाट मेल गरी पठाउने कार्यमा वडा सचिव साथीहरुले ध्यान दिनु पर्ने देखिन्छ । सके सम्म आफ्नो वडा पैदलै घुमौं । जनता चिनौ । अहिले स्मार्ट फोन सवै संग हुन्छ त्यसमा उच्च गुणस्तरको क्यामेरा हुन्छ । देखे र भेटे जति सवै संग हाई हेल्लो गरौं । फोटो खिचौं । फेसवुक फ्रेन्ड बनौं । अधिकांश डाटाहरु फोनमै राख्ने गरौं । जहां पुग्यो फोनबाट काम गरौं । वडाध्यक्षलाई सम्मान गरौं । वडा सदस्यहरुसंग नियमित अन्तरकृया गरौं । नगरपालिका संग नियमित सम्पर्कमा रहौं । यसो गर्यो भने जागिर रमाईलो हुन्छ, लोकप्रिय पनि भईन्छ । अव कसरी जागिर खाने ? ईच्छा तपाईंहरुको ।
हरेक बादलमा चांदीको घेरा हुन्छ । मैले पनि नगरपालिकाको कृयाकलापहरुमा चांदीको घेरा देखेको छु । ऐन, कानून बनिरहेका छन् । प्रतिबद्ध कर्मचारी, जिम्मेवार र पाको राजनैतिक नेतृत्व तथा नीति निर्माणको तहमा बसेर कार्य गरिसकेका प्रमुख प्रशासकीय अधिकृतको प्रशासनिक नेतृत्व रहेको कारण भविश्यको सुन्दर, सक्षम र विकशित नगरको कल्पना लाई अन्यथा मान्न सकिदैन ।

लेखक मेलम्ची नगरपालिकामा कार्यरत छन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF