दोलखामा आज ‘ड्वाकु डाकस’

 आवाज अनलाइन     १० भाद्र २०७५, आईतवार

दोलखा, भदौ १०

प्राचीन सहर दोलखामा परम्परागत ‘ड्वाकु डाकस’ अर्थात ठुलो लाखे देखाउने जात्रा सम्पन्न भएको छ ।
ठुलो लाखेलाई दोलखा भाषामा ड्वाकु डाकस भनिन्छ । ड्वाकु डाकसलाई कालिन्चोक भगवतीको अर्को रुप वा अवतार मानिन्छ ।
गठेमङ्गलको दिन परम्परागत रुपमा पूजाआजा गरेपछि द्वितीयादेखि लाखे देखाउने प्रचलन सुरु हुन्छ । यसरी देखाइने लाखेलाई राक्षसको रुपमा लिइन्छ । राक्षसले दोलखा सहरमा वितण्डा मच्चाउन थालेपछि दोलखा सहरमा भएका देवी देउताहरुले प्रतिकार गर्छन् । तर उनीहरुको केही नलागेपछि वरदान माग्न र सहयोग माग्न बाजागाजासहित जनैपूर्णिमाको अघिल्लो दिन कालिन्चोक भगवतीकोमा पुग्दछन् । उनीहरुको आराधनाबाट खुशी भएर कालिन्चोक भगवती उनीहरुसँगै दोलखा सहरमा आउँछिन् । राक्षसलाई मार्न आएकी कालिन्चोक भगवती राक्षसकै रुप धारण गरेर ड्वाकु डाकस अर्थात ठुलो लाखेको रुपमा नृत्य गर्दै बजार परिक्रमा गर्दछिन् ।
भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार स्वयं कालिन्चोक भगवती राक्षसहरुलाई मार्न आएपछि त्यसबाट बच्न ती राक्षसहरु महादेवको आराधना गर्दै यज्ञ गर्दछन् । उनीहरुले यज्ञ गरेको ठाउँ तीन धारा राजहिटीमा गई ड्वाकु डाकसले यज्ञ विध्वंस गर्दछ र राक्षसहरुलाई लखेट्छ ।
यज्ञबाट लेखिटिएका राक्षसहरु राजकुलेश्वरको पोखरीमा गई फाल हान्दछन् । त्यहाँ राक्षसहरु पोखरीमा फाल हानेर मरेको मानिन्छ । त्यही खुशीमा डबलीबडलीमा गई ड्वाकु डाकस सहित भै नाचेर रमाइलो गर्दछन् ।
जनैपूर्णिमाको दिन दोलखा आएकी कालिन्चाके भगवती कागे अष्ठमीसम्म दोलखा भीमेश्वरको मन्दिरमा रहने जनविश्वास छ ।
यो वर्ष दोलखामा मनाइने विभिन्न चावपर्वहरुलाई महोत्सवको रुपमा मनाइएको छ । प्राचीन सहर दोलखाका चावपर्वहरुलाई राज्यले वा स्थानीय सरकारले हेरोस् र व्यवस्थापन गरोस् भन्ने उद्देश्यका साथ यो वर्ष सबै जात्राहरुलाई महोत्सवको रुपमा मनाइएको भीमेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष विराज श्रेष्ठले बताए । दोलखा सहरका चाडपर्वहरु गुठीमार्फत व्यवस्थापन गर्नुपर्ने र गरिने भए पनि यो वर्ष दोलखा सहरबासीहरुले आफूआफू मिलेर मनाएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF