दोलखामा आजदेखि भैरबकुमारी जात्रा सुरु

 आवाज अनलाइन     १२ भाद्र २०७५, मंगलवार

दोलखा, भदौ १२

प्राचीन नगरी दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरब कुमारीको जात्रा आज रातीबाट सुरु हुँदैछ ।
साँस्कृतिक सहर दोलखामा बाजागाजाको तालमा भैरब र कुमारीसहितको समुह युद्धको शैलीमा नाच्ने रोचक जात्रा आज रातीदेखि सुरु हुन थालेको हो ।
हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको रातभरसम्म यो जात्रा लाग्ने गर्दछ । जात्रामा ब्रत बसे मनोकाङ्क्षा पूरा हुने जनविश्वासले दोलखा बजार लगायतका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकाङ्क्षाका साथ ब्रतालु नारीहरुले राती पुजापाठ गरेपछि सुरु हुने गर्दछ । भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् ।
पा“चसय वर्ष भन्दा पुरानो मानिने यो जात्रा दोलखा बजारबाहेक देशको अन्य ठाउ“मा नदेखाइने दावी स्थानीयहरुको छ । मन्दिर र मूर्तिहरुको प्राचीन सहर दोलखामा करिब पाँचसय वर्षअघिदेखि सो भैरबकुमारीको जात्रा लाग्दै आएको स्थानीय बृद्धहरु बताउँछन् ।
हरेक वर्षको गाईजात्राको भोलिपल्ट द्वादशीदेखि पाँचदिनसम्म प्रत्येक सा“झपछि भैरब, कुमारीलगायत सेनामेनाहरु सिँगारेर लहरै बस्छन् । पुजाको विधि सकिएपछि सिँगारिएर बसेका मुकुण्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि ब्रतालुहरुले खाना खाने चलन छ । स्थानीय बाजागाजासहित भैरब र कुमारीलगायत ३२ जनाको समूह युद्धको शैलीमा विभिन्न टोलको डबलीमा नाच्दै सहरको परिक्रमा गर्ने परम्परा छ ।
भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार द्वापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरुलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको हो । तान्त्रिक विधि पूरा गरेर सुरु गरिने जात्रा निकाल्नुपूर्व ब्रत वस्ने महिलाहरु दिनभर नखाई टासिचाटोलको गुठीघरमा भेला हुन्छन् ।
भैरब कुमारीको साथमा बुढी आमा, तान्त्रिक विधि गर्ने गुभाजु, झण्डा बोक्ने, घोडा चढ्ने, जाल हान्ने र हतियारसहितका सुरक्षादस्ता विभिन्न टोल र मन्दिर डबलीमा नाच्ने जात्रा रोचक हुने गर्दछ । नरोक्किई बाजा बजाउनुपर्ने भएकोले सो जात्रामा ढोलक बजाउनेलगायत १४ जनाको बाजासमूह रहेको हुन्छ ।
दोलखाबासीले यस वर्ष भैरब कुमारी जात्रालाई गँुला महोत्सवको रुपमा मनाएका छन् । पौराणिक तथा साँस्कृतिक सहर दोलखामा मनाइने पर्वहरुको प्रचारप्रसार गर्ने उद्देश्यले यस वर्ष गुँला महोत्सवका साथ पर्वहरु मनाइएको भीमेश्वर नगरपालिका २ का अध्यक्ष एवं गुँला महोत्सव मूल समारोह समितिका अध्यक्ष विराज श्रेष्ठले जानकारी दिए । भीमेश्वर नगरपालिका र स्थानीयको सहयोगमा यस वर्षको जात्रा तथा पर्वहरु मनाइएको पनि मूल समारोहका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तस्विरः फाइल

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।