चरिकोटमा मच्छेगाउँ र चरिकोटको लाखे : बजारमा सवारी साधन निषेध

 आवाज अनलाइन     १३ भाद्र २०७५, बुधबार

दोलखा, भदौ १३
साँस्कृतिक आदानप्रदानको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले  दोलखा सदरमुकाम चरिकोटमा काठमाडौँ मच्छेगाउँ र चरिकोटको संयुक्त लाखे नाच देखाइने भएको छ । यो लाखे नाचमा हुने भीडलाई ध्यानमा राखी भोलि दिनभर सदरमुकाम चरिकोट बजारमा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले सूचना जारी गरी चरिकोट र काठमाडौँ मच्छेगाउँको गरी ६ वटा लाखे नाचको कार्यक्रम र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदन गर्ने समेतको भीडलाई ध्यानमा राखी सवारी आवागमनको रुट परिवर्तन गरिएको जनाएको छ । बजारमा हुने अत्यधिक भीडका कारण सवारी आवागमन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै भोलिका लागि सवारीको नयाँ रुट निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
चरिकोटबाट दोलखा–सिँगटी र दोलखा–सिँगटीबाट चरिकोट आउने हलुका सवारी साधनहरुको भीमेश्वर नगरपालिका ६ को पाटीखोला–भूसंरक्षण कार्यालय–कोष तथा लेखा नियन्त्रण कार्यालय–टुँडिखेल हुँदै दोलखा जाने रुट निर्धारण गरिएको छ । त्यसैगरी ठुला सवारी साधनहरुका लागि भीमेश्वर नगरपालिका २ तिखातलबाट अनाथालय हुँदै आवागमन निर्धारण गरिएको दोलखा प्रहरीले जनाएको छ ।
साँस्कृतिक आदानप्रदानको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चन्द्रागिरि ९, मच्छेगाउँको ५ वटा लाखे र चरिकोटको एउटा लाखे भोलि दिउँसो चरिकोट बजारमा संयुक्त रुपमा प्रदर्शन गर्ने कार्यक्रम छ । कार्यक्रमको आयोजना लालीगुराँस युवा क्लबले गरेको छ भने चरिकोट गुठीको प्रवद्र्धन र भीमेश्वर नगरपालिकाको समन्वय रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF