चरिकोट र मच्छेगाउँबिच साँस्कृतिक मितेरी

 आवाज अनलाइन     १४ भाद्र २०७५, बिहीबार

दोलखा, भदौ १४

दोलखा सदरमुकाम चरिकोट र काठमाडौँ चन्द्रागिरि नगरपालिका ९ मच्छेगाँउबिच साँस्कृतिक मितेरी गाँसिएको छ । आज दोलखा सरमुकाम चरिकोटमा दुबैतर्फको लाखेनाच देखाउँदै यो उद्घोष गरिएको हो ।
साँस्कृतिक आदानप्रदानको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले त्यहाँ नचाइने ५ वटा लाखे लिएर आएको चन्द्रागिरि नगरपालिका मच्छेगाउँका मच्छेनारायण साँस्कृतिक समूहका अध्यक्ष रमेश साहीले चरिकोट र मच्छेगाउँबिच साँस्कृतिक मितेरी गाँसिएको बताए ।
लाखेनाच सँस्कृति आदानप्रदान कार्यक्रममा बोल्दै मच्छेनारायण साँस्कृतिक समूहका अध्यक्ष साहीले मच्छेगाउँको चरिकोटसँग साँस्कृतिक मितेरीको उद्घोष गरेका हुन् ।
भीमेश्वर नगरपालिकाको समन्वय तथा लालिगुँरास युवा क्लब र चरिकोट गुठीको आयोजनामा भएको लाखेनाच सँस्कृति आदानप्रदान कार्यक्रममा सहभागी हुन काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाँउबाट पाँचवटा लाखे चरिकोट आएको छ । ४१ जना सँस्कृतिकमी सहित मच्छेनारायण साँस्कृतिक समूहका अध्यक्ष रमेश साही, समन्वयकर्ता विभीषण गोपाली र धनबहादुर गोपालीको विशेष पहलमा ल्याइएको लाखेनाच सदरमुकाम चरिकोटको विभिन्न ठाँउमा प्रर्दशन गरिएको छ । मच्छेगाउँको लाखेँंगै चरिकोटको लाखेनाच पनि प्रर्दशन गरिएको छ । मच्छेगाँउ र चरिकोटको लाखेनाच हेर्न चरिकोटमा उल्लेख्य भीड लागेको थियो ।
मच्छेगाँउ र चरिकोटको लाखेनाच प्रर्दशनबाट साँस्कृतिक परम्पराको आदानप्रदान र जर्गेनामा टेवा पुग्ने लालिगँुरास युवा क्लब चरिकोटका अध्यक्ष विमल श्रेष्ठले बताए । लाखेनाच सँस्कृति आदानप्रदानले दुबै पक्षले नयाँ कुरा सिक्न सक्ने पनि श्रेष्ठ बताए । अध्यक्ष साहीले गत वर्ष चरिकोटको लाखे मच्छेगाँउमा प्रर्दशन गरेर साँस्कृतिक आदानप्रदानको सुरुवात भएको भन्दै लालिगुँरास युवा क्लब र चरिकोट गुठीको प्रशंसा समेत गरे । उनले मच्छेगाँउमा यो वर्ष भदौ २९ र ३० गते हुने लाखेनाच प्रर्दशनीमा सहभागिताका लागि निम्तो समेत गरे । अध्यक्ष साहीले चरिकोटसँग अन्य साँस्कृतिक एवं धार्मिक विषयवस्तुहरुको समेत जानकारी तथा मान्यताहरु आदानप्रदान हुन सक्ने बताए । उनले यो अभियानले चरिकोट र मच्छेगाँउमा पर्यटन प्रवद्धनमा समेत टेवा पुग्न सक्ने बताए ।
लाखेनाच सँस्कृति आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलखाको पर्यटन प्रवद्र्धनमा लाखेनाच सँस्कृति महत्वपूर्ण रहने बताए । दोलखामा पर्यटन आकर्षित गर्ने मुख्य कुरा धार्मिक, साँस्कृतिक एवं जातिगत विशेषता रहेको बताए । उनले चरिकोटको लाखेको साँस्कृति रुपमा राष्ट्रिय महत्व रहेको पनि बताए ।
चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा जिल्ला न्यायाधीश कमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा लगायतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।