तामाकोशी को शेयर किन्न च्छोरोल्पाको सहयोग

 आवाज अनलाइन     १६ भाद्र २०७५, शनिबार

दोलखा, भदौ १६

आर्थिक विपन्नताका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर हाल्न नपाएका दोलखा भिरकोटका माझी परिवारलाई सदरमुकामस्थित च्छोरोल्पा अस्पतालले आर्थिक सहयोग गरेको छ ।
तामाकोशी गाउँपालिका १ भिरकोटका सुकुम्बासी दानबहादुर माझीको ५ जनाको परिवारलाई तामाकोशीको शेयर हाल्नको लागि च्छोरोल्पा अस्पतालका सञ्चालक तथा समाजसेवी पृथ्वीबहादुर श्रेष्ठले २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
माथिल्लो तामाकोशीको शेयर आवेदन गर्न निर्धारित पहिलो चरणको समय सकिएपछि पनि शेयर आवेदन गर्न नसकेका माझी परिवारलाई शेयर किन्नको लागि समाजसेवी पृथ्वीबहादुर श्रेष्ठकी पत्नी इन्दिरा श्रेष्ठले २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी छन् । श्रेष्ठले विपन्न ती परिवारलाई खाद्य सामग्रीसमेत हस्तान्तरण गरेकी छन् ।
त्यसैगरी माझी परिवारका बालबालिकाहरुलाई अध्ययनमा सहयोग पु¥याउन दोलखा सामुदायिक अस्पतालका सञ्चालक एवं समाजसेवी अमृतबहादुर बुढाथोकीले दानबहादुरका ३ छोरीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
भीमेश्वर ७ की हाल बेलायत बस्दैआएकी पेमा शेर्पाले पनि माझी परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेकी छन् । पत्रकार राजन बस्नेतको पहलमा तामाकोशी गाउँपालिका १ का अध्यक्ष महेश काफ्लेको पहलमा सहयोग वितरण गरिएको थियो ।
सहयोग पाएपछि दानबहादुरले तामाकोशीको शेयर हाल्न पाएकोमा खुशीका आँसु झारे । आफ्ना छोरीहरुले पढ्न पाउने भएपछि खुशी व्यक्त गरे ।
सो अवसरमा वडा अध्यक्ष काफ्लेले आफ्नो जग्गा समेत नभएका दानबहादुरको परिवारलाई जग्गा व्यवस्था गरी घर निर्माणको पहल गर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF