भैरब कुमारी जात्रा सम्पन्न

 आवाज अनलाइन     १७ भाद्र २०७५, आईतवार

दोलखा, भदौ १७

प्राचीन सहर दोलखामा परम्परागत रुपमा मनाइने गरेको भैरबकुमारीको जात्रा सम्पन्न भएको छ । पाँच रातसम्म रातभर देखाइँने जात्रा आज बिहानबाट सम्पन्न भएको हो ।

मन्दिर र मूर्तिहरुको प्राचीन सहर दोलखामा करिब पाँचसय वर्षदेखि सो भैरबकुमारीको जात्रा लाग्दै आएको स्थानीय बूढापाकाहरु बताउँछन् । स्थानीय बाजागाजासहित भैरब र कुमारीलगायत ३२ जनाको समूह युद्धको शैलीमा सहरको विभिन्न टोलको डबलीमा नाच्दै परिक्रमा गर्ने रोचक जात्रा भर्नेहरुको भीड यस वर्ष उल्लेख्य रह्यो ।

हरेक वर्ष झैँ गाईजात्राको भोलिपल्टदेखि षष्ठीको दिनसम्म लाग्ने जात्रामा मनोकामना पूरा हुने विश्वासका साथ ब्रत बस्ने र दर्शन गर्नेहरुले पाँच रातसम्म दोलखा बजारमा निक्कै चहलपहल भयो ।

भैरब कुमारीको साथमा बुढी आमा, तान्त्रिक विधि गर्ने गुभाजु, झण्डा बोक्ने, घोडा चढ्ने, जाल हान्ने र हतियारसहितका सुरक्षादस्ता विभिन्न टोल र मन्दिर डबलीमा नाच्ने जात्रा रोचक हुने गर्दछ । नरोक्किई बाजा बजाउनेपर्ने भएकोले सो जात्रामा ढोलक बजाउने एकजना, झ्याम्टा बजाउने १ जना र १२ जना सनाही बजाउने गरी १४ जनाको बाजासमूह रहेको हुन्छ ।

भैरबकुमारीको जात्रासँगै गुँला महोत्सव पनि समापन भएको छ । दोलखाबासीले यस वर्ष भैरब कुमारी जात्रा समेतलाई गँुला महोत्सवको रुपमा मनाएका हुन् । पौराणिक तथा साँस्कृतिक सहर दोलखामा मनाइने पर्वहरुको प्रचारप्रसार गर्ने उद्देश्यले यस वर्ष गुँला महोत्सवका साथ पर्वहरु मनाइएको भीमेश्वर नगरपालिका २ का अध्यक्ष एवं गुँला महोत्सव मूल समारोह समितिका अध्यक्ष विराज श्रेष्ठले जानकारी दिए । भीमेश्वर नगरपालिका र स्थानीयको सहयोगमा यस वर्षको जात्रा तथा पर्वहरु मनाइएको पनि मूल समारोहका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस वर्ष भैरबकुमारीको जात्रामा अघिल्ला वर्षहरुमा भन्दा उल्लेख्य भीड थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF