दाेलखामा नयाँ व्यवस्थापनमा आपत्कालीन केन्द्र

 आवाज संवाददाता     २८ असार २०७३, मंगलवार

दोलखा, २८ असार/जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नयाँ व्यवस्थापनमा सुरु भएको छ ।
गृह मन्त्राालय अन्तर्गत रहेको यो केन्द्रले जिल्लामा भएका विपतका घटनाको सूचना संकलन गर्ने तथा तत्काल गृह मन्त्रालयमा त्यसको जानकारी दिने उद्देश्यले स्थापना गरिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा यो केन्द्र रहेकोमा अहिले नयाँ व्यवस्थापनसहित सुरु भएको हो ।
यस आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सशस्त्र प्रहरीका सञ्चारमा काम गर्ने दुई जना कर्मचारी रहने छन् भने यो केन्द्र २४ घण्टै खुला रहने दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा रहेको केन्द्रलाई आईओएम नामक गैरसरकारी संस्थाको सहयोगमा जिल्ला प्रशासनसँगै ४ लाख ४७ हजारको लागतमा कार्यकक्ष निर्माण भएको हो । केन्द्रका लागि आवश्यक फर्निसिङ्ग लगायतको काम प्लान नेपालले गरिदिने भएको छ । छुट्टै कार्यकक्षको स्थापनासँगै केन्द्रको काममा चुस्तता आउने प्रमुख जिल्ला अधिकारी शाहीले विश्वास व्यक्त गरे ।
केन्द्रले देशभर भएका विपतका घटनाहरुको सूचना राख्ने छ भने दोलखा जिल्लामा भएका विपतका घटनालाई सरकारमा पुर्याउने काम गर्नेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।