कालिन्चोक गाउँपालिका कार्यालयमा तालाबन्दी

 आवाज अनलाइन     ५ आश्विन २०७५, शुक्रबार

दोलखा, असोज ५

भूकम्प पीडितको निजी आवास निर्माणका बेला बालुवा, गिटी निकासीमा रोक लगाएर कालिन्चोक गाउँपालिकाले भूकम्प पीडित जनतालाई झनै पीडित बनाएको भन्दै तरुण दलले कालिन्चोक गाउँपालिकाको कार्यालयमा ताला लगाएको छ ।
कालिन्चोक गाउँपालिका तरुण दल संयोजक पदम पाठकले प्रेस विज्ञप्ति प्रकाशित गरी भूकम्प पीडित कालिन्चोक गाउँपालिकाबासीलाई झन पीडा दिएको भन्दै आज पालिका कार्यालयमा लाताबन्दी गरेको जानकारी दिएका छन् ।
भूकम्प पीडितको निजी आवास निर्माणको काम चरममा पुगेका बेला गाउँपालिकाले गिटी, बालुवा निकासीमा रोक लगाउनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भूकम्प पीडितका तर्फबाट लगाइएको ताला उनीहरुको मागको सम्बोधन नुहञ्जेलसम्म नखोलिने उल्लेख छ ।
गत भदौ १९ गते कालिन्चोक गाउँपालिका कार्यालयले आन्तरिक आय संकलन गर्नको लागि ठेक्का लगाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । त्यही दिनदेखि सो क्षेत्रमा गिटी बालुवा संकलनको कार्य रोकिएको छ । यसबाट निजी आवास निर्माणको लागि भूकम्प पीडितहरुको लागि मर्का परेको भन्दै तरुण दल कालिन्चोक गाउँपालिकाले आज तालाबन्दी गरेको जनाएको छ । सो गाउँपालिकाले न्यूनतम २ करोड १४ हजारमा ठेक्का लगाउने गरी ठेक्का आह्वन गरेको थियो ।
गौरीशंकर गाउँपालिका ४ ले पनि प्रेस विज्ञप्ति प्रकाशित गरी कालिन्चोक गाउँपालिकाले एकलौटी ठेक्का सूचना निकाल्नु गलत भएको जनाएको छ । गौरीशंकर गाउँपालिका र कालिन्चोक गाउँपालिकाको सिमानामा पर्ने तामाकोशीको बराबरी हक हुने दावी उनको छ । ठेक्काबाट उठेको रकम दुबै पालिकालाई आधाआधा पार्नुपर्ने जिकिर वडा नं ४ का अध्यक्ष प्रलाद कार्कीको छ ।
कालिन्चोक गाउँपालिका उपप्रमुख कालिका पाठकले पालिकाको राजश्व संकलनको लागि ठेक्का लगाउनु बाध्यता भएको उल्लेख गर्दै ठेक्का नलागुन्जेलका लागि मात्रै लाभग्राहीलाई समस्या हुने बताइन् । उनले आइतवार गाउँ कार्यपालिकाको बैठक बसी समाधान खोज्न प्रयास गर्ने बताइन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।