प्रधानमन्त्रीले राजीनामा नदिए माओवादीले बजेट पारित हुन नदिने

 आवाज संवाददाता     २९ असार २०७३, बुधबार

आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी /

२९ असार, काठमाडौं । व्यवस्थापिका संसदको आज बस्ने बैठकमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने भएको छ । पूर्ण बजेट पारित गर्नका लागि बोलाइएको बैठकमा माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको हो ।

‘अल्पमतमा परेको सन्दर्भमा आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ,’ माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्-‘ प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बजेट पारित गर्न नदिने पार्टीले निर्णय गरेको छ ।’
बुधबार बिहान बसेको माओवादी शीर्षनेताहरुको बैठकले प्रधानमन्त्रीको राजीनामा नआए बजेट पास नगर्ने निर्णय गरेको प्रवक्ता भुसालले अनलाइनखबरलाई बताइन् ।

यसैवीच संसदमा कसरी प्रस्तुत हुने भन्नबारे छलफल गर्न बुधबार बिहान साढे १० बजे माओवादी संसदीय दलको बैठक बस्दैछ ।

बजेट पारित गर्नका लागि ११ बजे व्यवस्थापिका संसदको बैठक बोलाइएको छ ।

यसैवीच प्रधानमन्त्री ओलीले राजीनामा नदिए आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको माओवादी प्रवक्ता भुसालले बताइन् ।

अनलाइनखबरबाट साभार

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।