भूकम्पपीडितलाई सहुलियत कर्जा असोज मसान्तसम्म मात्रै दिइने

 अावाज स‌‌वाददाता     १४ आश्विन २०७५, आईतवार

सरकारले भूकम्पपीडितको आवास पुनर्निर्माणमा प्रदान गर्दै आएको पुनर्कर्जा दिने व्यवस्था हटाएको छ । सरकारले ‘भूकम्प प्रभावित घरपरिवारलाई आवासीय घर पुनर्निर्माणका लागि प्रदान गरिने पुनर्कर्जा कार्यविधि, २०७२’ संशोधन गर्दै असोज मसान्तपछि यस्तो पुनर्कर्जा उपलब्ध नगराउने व्यवस्था गरेको हो । भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थामार्फत दिइने २ प्रतिशत ब्याजदरको पुनर्कर्जा असोजपछि रोकिने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । ‘अहिले जेजतिले प्रक्रिया थालेका छन्, उनीहरूले सहुलियतदरको उक्त पनुर्कर्जा प्राप्त गर्न सक्नेछन्,’ उनले भने, ‘तर, असोजपछि कसैले पनि यस्तो कर्जा प्राप्त गर्न सक्नेछैनन् ।’ अब प्रक्रिया सुरु गरिसकेका बाहेक बाँकी भूकम्पपीडितलाई सहुलियतदरको पुनर्कर्जा नदिन बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको उनले बताए ।

नेपाल सरकारले भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गर्दै ‘भूकम्प प्रभावित घरपरिवारलाई आवासीय घर पुनर्निर्माणका लागि प्रदान गरिने पुनर्कर्जा कार्यविधि, २०७२’ ल्याएको थियो । उक्त कार्यविधिअनुसार भूकम्पपीडितले घर पुनर्निर्माणका लागि २ प्रतिशत ब्याजदरमा न्यूनतम ५ वर्ष र अधिकतम १० वर्षका लागि ऋण पाउने व्यवस्था भयो । कार्यविधिअनुसार भूकम्पपीडितले काठमाडौं क्षेत्रभित्र २५ लाख रुपैयाँ र मोफसलमा १५ लाख रुपैयाँ ऋण लिन सक्ने व्यवस्था गरियो । सरकारले घोषणा गरेअनुसार १ हजार ११ जनाभन्दा बढीले यस्तो कर्जा लिए । अब भने भूकम्पपीडितले यस्तो पुनर्कर्जा पाउनेछैनन् ।

नयाँ पत्रिका

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF