विश्व बसोबास दिवसमा फोहोरमैला व्यवस्थापन मुद्दा

 आवाज अनलाइन     १४ आश्विन २०७५, आईतवार

काठमाडौँ/सरकारले विश्व बसोबास दिवस २०१८ लाई ‘सहरी फोहोरमैला व्यवस्थापन’ नाराका साथ मनाउने तयारी गरेको छ । मानिसको बसोबाससँग फोहोरमैला पनि जोडिने भएकोले असोज १५ गते सोमवार ‘सहरी फोहोरमैला व्यवस्थापन’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको विश्व वसोवास दिवस मूल तयारी समितिका संयोजक इन्जिनियर शिवहरि शर्माले बताए ।
संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (युएन हेबिटाट) द्वारा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास नीतिको प्रवद्र्धन गर्ने उद्देश्य सहित विश्वको ध्यानाकर्षण गर्न सन् १९८६ देखि हरेक बर्षको अक्टोबर महिनाको पहिलो सोमवार यो दिवस मनाइँदै आएको छ । नेपालमा भने सन् २००१ देखि बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा नेपाल सरकारले यो दिवस मनाउने गरेको हो ।
मुलुकमा भएको जनसंख्या बृद्धि र तीव्र सहरीकरणका कारण फोहोरमैलाको समस्या विकराल बन्दै गइरहेको सन्र्दभमा फोहोर आफैँ आफ्नो घरबाटै व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि पनि यो बर्षको विश्व बसोबार दिवस ‘सहरी फोहोरमैला व्यवस्थापन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको मूल तयारी समितिका संयोजक शर्माले बताए । असोज १५ गते सोमवार यो दिवसको अवसरमा विशेष गरी फोहोरमैला व्यवस्थापनको बारेमा हेटौँडा उपमहानगरपालिका र वालिङ नगरपालिकाबाट विशेष प्रस्तुति रहेको आयोजक सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
फोहोर मैला आफु नजिक हुनु नहुने तर अलिक टाढा राख्न हुने मान्यताले समस्या निम्त्याउँदै गएकोले फोहोर व्यवस्थापन आफ्नो घर र आफ्नो टोलमै व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश यस बर्षको दिवसले दिने संयोजक शर्मा बताउँछन् ।
फोहोरमैलामा अहिले इलेक्ट्रोनिक ओस्टेड फोहोर समेत ठुलो समस्याको रुपमा रहेको र यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर गरिरहेकोले यो विषयमा समेत दिवसको अवसरमा चेतना मूलक अभियान सञ्चालन गरिने युएन हेभिटाटका इन्जिनियर पिएस जोशी बताउँछन् । सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव इन्जिनियर रामचन्द्र दंगाल फोहोरमैला व्यवस्थापनको लागि मुख्य त उत्पादन घटाउने र पुनः प्रशोधन गर्ने कुरा महत्वपूर्ण हुने भएकोले यो विषयको प्रचार प्रशारको लागि पत्रकारहरले समेत सहयोग गर्नुपर्ने बताउँछन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।