माथिल्लो तामाकोशीको आइपिओः यसअघि भरेकाले नपाउने

 अावाज स‌‌वाददाता     ८ कार्तिक २०७५, बिहीबार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही कात्तिक १५ गतेदेखि आम सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । आयोजनाले शेयर खरिद गर्न चाहनेलाई न्यूनतम ५० कित्ता अर्थात् ५ हजार रुपैयाँदेखि अधिकतम १ हजार कित्ता अर्थात् १ लाख रुपैयाँसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

शेयर खरिद प्रक्रियामा यस अघि सहभागी भएकालाई भने आम सर्वसाधारणको रुपमा शेयर खरिद गर्न पाउने छैनन् । आयोजनाले एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्न लागेको छ । दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ । यस्तै, आयोजना प्रभावित दोलखाबासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ । तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । धितोपत्र निश्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुनेछ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।