दोलखाको टासिनाममा आगलागीबाट २ जनाको मृत्यु

 आवाज अनलाइन     ९ कार्तिक २०७५, शुक्रबार

दोलखा, कात्तिक ९

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका, टासिनामका भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ । आगलागीबाट अर्का एक सदस्य घाइते भएका छन् ।

जिल्लाको गौरीशंकर गाउँपालिका ९ स्थित टासिनामस्थित गोपाल शेर्पाको घरमा आगलागी हुँदा उनकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको हो । आगलागीबाट उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् । घाइते फुर्साङको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याउँदै गरेको दोलखा प्रहरीले जनाएको छ । आज बिहान साँढे २ बजेतिर लागेको आगो साँढे ४ बजे प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । गोपालको आमा अगेना नजिकै सुत्ने गरेकाले उनले ओडेको कपडाबाट आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शेर्पाको परिवारमा ७ जना सदस्य भए पनि आगलागीका बेला ३ जना मात्रै घरमा रहेकोले अन्य सदस्यहरुलाई केही भएको छैन । परिवारका अन्य सदस्यहरु भने घरभन्दा आधा घण्टा टाढा गोठमा बस्दै आएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।