फोरम लोकतान्त्रिक र राप्रपाले पनि ओलीको साथ छाड्ने

 आवाज संवाददाता     ३० असार २०७३, बिहीबार

प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका वर्तमान मन्त्रिपरिषदमा बसेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि नयाँ सत्तासमीकरणलाई सहयोग गर्ने संकेत गरेको छ ।

विजय गच्छादर नेतृत्वको फोरम लोकतान्त्रिकको आज दिउँसो बस्न लागेको राजनीतिक समितिको बैठकले नयाँ सत्तासमीकरणमा सहभागी हुने वा ओलीलाई नै साथ दिने भन्ने विषयमा छलफल गर्दैछ ।

फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले अहिले नै केही भन्ने अवस्था नरहेको बताए। ‘राजनीतिक समितिको बैठक बस्दैछौँ’, उनले भने, ‘अध्यक्ष ज्यूले कस्तो प्रस्ताव ल्याउनु हुन्छ ? अरु नेताहरूपनि के भन्नु हुन्छ । निर्णय जे पनि हुन सक्छ ।’

स्रोतका अनुसार फोरम लोकतान्त्रिकले कांग्रेस र माओवादी केन्द्रको नयाँ गठबन्धनलाई सहयोग गर्ने विषयमा सकारात्मक धारणा राखेको छ । फोरम लोकतान्त्रिकमा दुई थरी धारणा बने पनि नयाँ समीकरणमा जानुपर्नेहरूको दबाब धेरै रहेको बुझिएको छ ।

उता, लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले पनि ओलीलाई छाड्ने संकेत गरेको छ । ओली सरकारलाई छाडेर अब बन्ने नयाँ समीकरणमा सहभागी भइ संविधान कार्यान्वयनमा पहल गर्ने तयारी गरिएको उच्च स्रोतले जनाएको छ ।

माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन कांग्रेससँग गठबन्धन गरी प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । माओवादी केन्द्रले सरकार छाडेपछि बुधबार मात्र ओलीले गच्छादारलाई वन मन्त्रालयको समेत जिम्मेवारी थपेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF