दोलखामा पनि प्रहरी–समुदाय साझेदारी कार्यक्रम सुरु

 आवाज अनलाइन     ११ कार्तिक २०७५, आईतवार

दोलखा, कात्तिक ११

‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपालभर एकैसाथ प्रहरी–समुदाय साझेदारी कार्यक्रमको शुभारम्भ भएको छ । यससँगै दोलखामा पनि आज यो कार्यक्रमको शुभारम्भ गरिएको छ ।
शान्ति सुरक्षा, समृद्धि र स्थायित्वका लागि स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी नेपालभर एकैसाथ यो कार्यक्रमको सुरुवात गरेको हो ।
सार्वजनिक अपराध रोकथाम, सामाजिक विकृति–विसंगति विरुद्ध जनचेतना फैलाउने तथा शान्ति सुरक्षामा जनजसहयोग बढाउने उद्देश्यले सरकारकै कार्यक्रमको रुपमा यो अभियान ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले आफ्नो प्रस्तुतीको क्रममा जानकारी गराए ।
समुदाय र प्रहरीबिच साझेदारीको रुपमा स्थानीय तह र जिल्ला प्रहरी कार्यालयबिच समझदारीमा हस्ताक्षर भएको छ । यसको सुरुवात जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठक र कालिन्चोक गाउँपालिका प्रमुख विनकुमार थामीबिच हस्ताक्षर गरी कार्यक्रम साझेदारीको सुरुवात गरिएको छ ।
दोलखामा यो साझेदारी कार्यक्रमको उद्घाटन भने जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले गरेका छन् । कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत तथा दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कार्यक्रममा सहयोगको प्रतिवद्धता तथा औचित्यबारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।
नेपाल सरकारले अभियानको रुपमा यसअघि पनि टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी जस्ता कार्यक्रम ल्याएको थियो । ती कार्यक्रमहरु खासै प्रभावकारी नभएको जनगुनासो आए पनि प्रहरी – समुदाय साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयन भने हेर्न बाँकी छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।