दोलखाको आलु अब आफ्नै ब्राण्डमा

 आवाज संवाददाता     ३० असार २०७३, बिहीबार

दोलखा, ३० असार,आफ्नै उत्पादन, आफ्नै नाम राख्ने गरी आलुलाई दोलखाको ब्रान्डको रूपमा चिनाउन जिल्ला विकास समितिले काम सुरु गरेको छ । दोलखाको शैलुंगेश्वर आसपासबाट उत्पादन भएको आलु सिन्धुपाल्चोक मुडेको आलुको नामबाट बजारमा बिक्री भइरहेका बेला दोलखाले आफ्नै ब्रान्ड बनाउने काम सुरु गरेको हो ।

वर्षा लागेसँगै दोलखाका किसान झरीमा भिज्दै आलु फलाउँछन् र काठमाडौंको माग धान्छन् । भाउ पाए पनि राजधानीका बजारमा दोब्बर भाउमा मुडेको आलुको नाममा बिक्री हुँदा किसान दुःखी हुँदै आएका छन् । जिल्लाबाट अन्यत्र निकासी गर्दा निकासी कर लिन सुरु गरेको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय, दोलखाले लोगो सहित ‘दोलखाको आलु’ लेखिएको ९ हजार बोरा किसानहरुलाई वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नारायण श्रेष्ठले जानकारी दिए ।  दोलखाको मागपौवा, शैलुंगेश्वर, फस्कु, काटाकुटी, भुषाफेदा, तामचेत दूधपोखरी, घ्याङलगायत क्षेत्रमा उत्पादित आलु मुडेको नामबाट बिक्री हुँदै आएको छ । त्यसैगरी बोच, लाँकुरीडाँडा, कालिञ्चोक, गैरीमुदी, ठूलोपातल, जिरी, माली, श्यामा, मिर्गे, जुँगू गाविसलगायत क्षेत्रमा बढी आलु उत्पादन हुन्छ ।

रासायनिक मलको प्रयोगबिनै फल्ने दोलखाको स्वादिलो र स्वस्थ आलुको पहिचान बनाउन किसान पटक–पटक जिल्ला कृषि विकास कार्यालय धाउँदै आएका थिए । जिविस दोलखाले केही दिनअघिदेखि ढाट नै राखेर आलुको निकासी करसमेत लिन थालेको छ । जिविसले पहिलो पटक मागापौवाको बाघखोर र लाँकुरीडाँडाको आहालडाँडामा कर संकलन केन्द्र राखेको छ । जिल्ला विकास समितिले लगाउने निकासी कर प्रतिकिलो ५ पैसा रहेको स्थानीय विकास अधिकारी शर्माले बताए । यसलाई थप व्यवस्थापनका लागि ठेक्का लगाउने प्रक्रिया सुरु भएको उनले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालय दोलखाका प्रमुख नारायण श्रेष्ठले दोलखाको प्रमुख निकासी बाली आलु नै भएको बताए । उनका अनुसार दोलखाको ३ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि ३६ हजार टन आलु फल्छ । २० हजार टन आलु बाहिरी जिल्लामा बेच्दा दोलखामा वार्षिक ५० करोड रुपैयाँभन्दा धेरै रकम भित्रिन्छ । उनले ३ हजार दोलखा आलु लेखेको बोरा किसानलाई वितरण गरेको बताए ।

समुद्र सतहबाट २ हजार मिटर अग्लो ठाउँमा खेती हुने भएकाले आलु यसै पनि स्वादिष्ट हुन्छ । त्यसमाथि रासायनिक मलको पनि प्रयोग शून्यजस्तै हुने भएकाले आलु स्वस्थ पनि हुन्छ ।
जैविक मलमा फलेको आलुको ग्रेडिङ गर्ने र दोलखाको आलुको छुट्टै ब्रान्ड बनाउन भन्दै जिल्ला परिषद्ले अघिल्लो वर्ष नै आलु निकासीमा कर लगाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।

नेपाल उद्योग वाणिज्य महासंघको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत पनि दोलखामा आलु नै छनोट भएको छ । उत्पादनमा आलुबाटै चिनाउन अब आलुको ग्रेडिङ र भण्डारणको व्यवस्थापनमा लाग्नुपर्ने दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की बताउँछन् । संघको कार्यक्रम किसानलाई थप व्यवसायिक बनाउने गरी काम हुने उनले दाबी गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।