सिनर्जी पावरको स्थानीयलाई ७ लाख कित्ता सेयर साउनमा

 आवाज संवाददाता     ३० असार २०७३, बिहीबार

सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको ७ लाख कित्ता सेयरर स्थानीयले साउनदेखि पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डबाट इनिसियल पब्लिक अफरिङ(आइपीओ) निश्कासनको अनुमति पाएको छ ।

दोलखाको सिप्रिङ खोलाबाट उत्पादन भइरहेको १० मेगावाटको आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको ७ लाख कित्ता सेयर आइपीओका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो ।

आइपीओ निश्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक नियुक्त भएको छ ।

सिभिल मार्केटका एक अधिकारीका अनुसार स्वीकृत आइपीओ ढिलोमा पनि साउन तेश्रो साताभित्रमा निश्कासनको प्रक्रिया थालिनेछ ।

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिनर्जी पावरको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो भनेको मध्यम रेटिङ हो । आयोजनाको प्रभावित क्षेत्र गौरीशंकर, खारे र लामाबगर गाविसको वडा नं. ९ हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।