‘दोलखा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटन गन्तव्य’

 आवाज अनलाइन     २ मंसिर २०७५, आईतवार

दोलखा, मंसिर २

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दोलखा काठमाडौँबाट नजिक रहेको नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थल भएकोले सरकारले यसको विकासको लागि ध्यान दिइरहेको बताएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक अनावरण गर्न आएका मन्त्री अधिकारीले विविध पर्यटकीय सम्भावना बोकेको दोलखाको विकासको लागि सरकारको ध्यान गएको बताएका हुन् ।
तर उनले दोलखा पर्यटन गन्तव्य भए पनि बाटो आदिको कारण त्यो रुपमा विकास हुन नसकेको बताए । ‘गौरीशंकर हिमाल पर्यटनको महत्वपूर्ण गन्तव्य हुन सक्छ’, उनले भने ‘यहाँ थुप्रै हिमालहरु छन्, हिमाल चढ्ने क्षेत्र हुन सक्छ, आरोहणको वातावरण सिर्जना को लागि काम गरिरहेका छौँ ।’
दोलखामा बाटोका कारण जनताले सास्ती भोग्नु परेको र विकासको गतिमा अवरोध आएको गुनासोको जवाफ दिँदै उनले निर्माणमा हेलचेक्¥याई गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन कानुन बनाउँदै गरेको सुनाए ।
दोलखाको पर्यटन विकासलाई सघाउन जिल्लामा हवाइ मैदान आवश्यक भएको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसको सम्भाव्यता अध्ययनको लागि आफूले टोली पठाउने वचनवद्धतासमेत व्यक्त गरे । उनले यसरी हवाइमैदानको सम्भाव्यता अध्ययन गर्ने भाषण गरिरहँदा सदरमुकाममा हेलिप्याडको अभावमा बारीको पाटामा हेलिकप्टर बस्नुपरेको कुरा स्थानीयवासीहरु सम्झँदै थिए ।
यसअघि मन्त्री अधिकारीले चरिकोट बजारबाट पुरानो बजार प्रवेश गर्ने चोकमा शंखधर साख्वाको सालिक अनावरण गरेका थिए । शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन दोलखा सदरमुकाम चरिकोटमा उनको सालिक अनावरण गरिएको हो ।
सालिक अनावरणपछि पशुपति चोकमा आयोजित सभामा दोलखाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद् पार्वत गुरुङ, प्रदेश सांसद् पुशपति चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम शंखधर साख्वा चोक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।