काठमाडौंका ४२ बसबिसौनीमा चाँडै शौचालय बन्दै

 अावाज स‌‌वाददाता     ४ मंसिर २०७५, मंगलवार

नेपाल यातायात मजदुर संघले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ।

यातायात मजदुर संघको टोलीले सोमबार काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालय बनाउन माग गरेको हो।

संघका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रका आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदुरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको हो।

प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरिएको जानकारी दिए। ‘त्यसमध्ये अहिले ४२ वटा बसबिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध भएका छन्,’उनले भने।

उपलब्ध स्थानमा एक हप्ताभित्र बोलपत्र आह्वान गरी शौचालय निर्माण थाल्ने उनले जानकारी दिए। हाल काठमाडौं उपत्यकामा १३ स्थानमा मात्र सार्वजनिक शौचालय छन्।

संघका महासचिव नुरनाथ पन्तले देशभर यातायात श्रमिकका लागि शौचालयको समस्या रहेको बताए। रासस

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।