अफगानस्थानमा १४ नेपालीको हत्या ९ घाइते

 आवाज संवाददाता     ६ असार २०७३, सोमबार

अफगानिस्तानको गृहमन्त्रालयले काबुल आक्रमणमा १४ नेपाली कामदारको मृत्यु भएको जनाएको छ । अफगानी गृृह मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै आत्मघाती आक्रमणकारीले नेपाली सवार मिनिबसमा विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको जनाएको हो । विज्ञप्तीमा अरु ९ जना घाइते भएको समेत जनाइएको छ । घाइतेमध्ये ५ नेपाली र ४ अफगानी रहेका छन् ।

अफगानी गृहमन्त्रालयले घटनाको निन्दा गर्दै मृतकको परिवारप्रति गहिरो समवेदनमा प्रकट गरेको छ ।

यसैबीच नेपाल सरकारले आत्मघाती बम विस्फोटमा नेपाली परेको सूचना प्राप्त भएको भन्दै यसबारे आधिकारिक रुपमा पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले नेपाली परेको बारे आफूहरुकहाँ सूचना आएको भन्दै त्यसको पुष्टिका लागि मन्त्रालय पाकिस्तानस्थित नेपाली दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने काम भइरहेको बताए ।

‘घटनामा नेपाली परेको सुचना आएको छ, कति नेपाली परे भन्नेबारे अहिले नै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘ अफगानिस्तानमा नेपाली दूताबास नभएकाले पाकिस्तानस्थित दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने प्रयास भइरहेको छ ।’

स्थानीय समय अनुसार बिहान ५ बजे आतंकवादीहरुले काबुलको पुल–ए–चार्खिल क्षेत्रमा एउटा अन्तर्राष्ट्रिय संस्थाको बसमा विस्फोट गराएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।