विष्णुलक्ष्मी–तुलसीमाया साहित्य पुरस्कार बलरामलाई

 आवाज अनलाइन     १ माघ २०७५, मंगलवार

दोलखा, माघ १

साहित्यकार बलराम दाहाललाई यो वर्षको विष्णुलक्ष्मी–तुलसीमाया साहित्य पुरस्कार प्रदान गरिएको छ ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान २०७५ बाट साहित्यकार बलराम दाहाललाई सम्मानित गर्ने निर्णय गरेको हो । एक समारोहका बिच आज उनलाई सो पुरस्कार पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदान गरेका हुन् । कालिन्चोक गाउँपालिका वडा नं ९, सुन्दावती स्थायी घर भएका दाहाल स्थापित छन्दकवि हुन् ।
मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक दोलखा तथा विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्राकृतिक प्रकोप नियन्त्रणमा नागरिक समाज/सञ्चारकर्मीहरुको भूमिका विषयमा छलफल समेत गरिएको थियो । सो कार्यक्रममा प्राकृतिक प्रकोप विशेषाङ्क ‘प्रदेय’ पत्रिका समेत सार्वजनिक गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले जलवायु परिवर्तनबाट नेपालमा हुने समस्या नेपालको कारणमात्र नभै विश्वमा हुने आणविक परीक्षण लगायतको कारणले बढी हुने गरेको बताए । उनले प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न सबै क्षेत्र र वर्गका मानिस सचेत हुनुपर्ने जिकिर गरे ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका संरक्षक चिरञ्जीवी मास्केको सभापतित्वमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कालिका पाठक, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, जिविस दोलखाका पूर्व उपसभापति शिवप्रसाद भण्डारी, नेकपा नेता शङ्कर लामा, पत्रकार राजेन्द्र मानन्धर, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, पत्रकार रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF