जन्ती बोकेको बस दुर्घटना, ३७ घाइते, ४ गम्भीर

 आवाज अनलाइन     ४ माघ २०७५, शुक्रबार

दोलखा, माघ ४

दोलखाको तामाकोशी गाउँपालिका ४ मालुबाट जन्ती लिएर सिन्धुली जान लागेका बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भिर रहेको छ भने उनीहरुलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
गम्भीर घाइते भएका तामाकोशी ४ मालुका कुमुदराज योगी, तामाकोशी ४ मालुकै उद्धव महत, तामाकोशी ५ का टोपबहादुर मिजार र तामाकोशी ५ का रञ्जितकुमार मिजारलाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाकी मन्त्री सिर्जना सुवेदीले जानकारी दिइन् ।
गम्भीर घाइते भएका योगीको हात र खुट्टा भाँचिएको छ भने र कम्मरमा गम्भिर चोट लागेको छ । टोपबहादुरको मिर्गौला र फोक्सोमा पानी जमेको प्राथमिक उपचारमा संलग्न किर्नेटारस्थित अस्पतालका डाक्टरले बताएका छन् । त्यसैगरी उद्धवको टोउकोमा चोट लागेको छ भने रञ्जितको घाँटीको नसामा समस्या रहेको बताइएको छ ।
त्यसैगरी तामाकोशी ४ का प्रकाश बयलकोटी, पार्वती रोका, रामकृष्ण मिजारलाई एम्बुलेन्सबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । त्यस्तै उपचारका लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएका ९ जना मध्ये तामाकोशी ४ मालुका सरोज खड्कालाई थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लगिएको पनि प्रहरीले जानकारी दिएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुबाट जन्ती लिएर सिन्धुलीको गोल्टारतर्फ जाने क्रममा आज विहान साँढे ४ बजे बा २ ख ३७६० नं को बस दुर्घटना भएको हो । जाडोको समय भएकोले स्टार्ट गर्न सजिलोको लागि ओरोलोमा रोकीराखेको बस अचानक आफैँ गुडेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरुको मालु स्वास्थ्य चौकी र किर्नेटारस्थित अस्पतालमा उपचार भइरहेको छ । बसमा करिब ४० जना यात्रु रहेको बताइएको छ । दुलाहा छुट्टै बोलेरोमा भएका कारण सुरक्षित छन् ।

तस्विर सौजन्यः विनोद महत

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF