पत्रकारको भवनलाई शैलुङको सहयोग

 आवाज अनलाइन     ७ माघ २०७५, सोमबार

दोलखा, माघ ७

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि शैलुङ गाउँपालिकाले सहयोग गरेको छ । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले पत्रकार महासंघको भवन निर्माणको लागि दुई लाख रुपैयाँको चेक महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरेका छन् ।
पत्रकार महासंघको भवन भीमेश्वर नगरपालिका वडा नं. ३ चरिकोटमा निर्माण हुँदैछ । सूचना केन्द्रसहितको भवन निर्माण गर्न लागेकाले समाजसेवी, संघसंस्था, सहकारी, नगरपालिका र गाउँपालिकाहरुले सहयोग जारी राखेका छन् । यसअघि भीमेश्वर नगरपालिकाले छ लाख, तामाकोशी गाउँपालिकाले एक लाख पचास हजार र वैत्यश्वर गाउँपालिकाले दुई लाख सहयोग गरिसकेका छन् ।
पत्रकार महासंघको भवन निर्माणको लागि पत्रकारहरु स्वयमले आफ्नो जन्मदिन, पुरस्कार, सम्मानमा पाएको रकम समेत भवन निर्माणलाई सहयोग गर्दै आएका छन् । यसअघि संकलित रकमले डीपीसी गरिसकेर पिलर उठाउने कार्य सम्पन्न भएको भवन निर्माण समितिले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF