हिउँमा अलपत्र यात्रुहरुको उद्धार

 आवाज अनलाइन     ५ फाल्गुन २०७५, आईतवार

दोलखा, माघ ५

शनिवार दिउँसोदेखि परेको हिमपातका कारण कालिञ्चोक मन्दिर क्षेत्रमा गएका यात्रुहरु अलपत्र परेका छन् भने अलपत्र परेका यात्रुहहरुलाई सुरक्षाकर्मीहरुको टोलीले उद्धार गरेको छ ।
भारी हिमपातका कारण कालिन्चोक जानेआउने क्रममा अलपत्र परेका सात सय भन्दा बढी पर्यटकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिवार रातिदेखि आइतवार दिउँसोसम्म लगाई उद्धार गरेको हो ।
शुक्रवार देखिनै कालिञ्चोक दर्शनको लागि पुगेका पर्यटकहरु शनिवारको भारी हिमपातले सवारी साधन सहित अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी संलग्न २२ जनाको टोलीले शनिवार दिउँसो ४ बजेदेखि आइतवार १२ बजेसम्म बाटोको हिउँ पन्छाएर साना तथा ठूला गरी एक सय २० वटा सवारी साधन र अलपत्र परेका सात सय भन्दा बढी पर्यटकलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
कालिञ्चोकमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार सामग्री सहितको टोलीले झण्डै २० घण्टा लगाएर उनीहरुको उद्धार गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
अत्यधिक चिसोले रातभरि सवारी साधनमै कठ्याङ्ग्रिएर बसेका महिला, बालबालिका र बृद्धबृद्धालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोलीले ब्लाङ्केट, चाउचाउ, बिस्कुट लगायतको सामग्री समेत वितरण गरेको सशस्त्र प्रहरी नेपाल गुल्म हेडक्वाटर १८ नम्बर गुल्म दोलखाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक किरणकुमार कठायतले बताए ।
झण्डै चार हजारको उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष पुसदेखि लगातार हिमपात भै रहेको छ । पुसयता कालिञ्चोक मन्दिरमा दर्शन गर्न र हिउँसँग रमाउन ५० हजार बढी पर्यटक त्यहाँ गएको कुरीस्थित सुनपाती होटल सञ्चालक हरि ओलीले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।