प्रदेशस्तरीय महिला भलिबलः उद्घाटन खेलमा दोलखा विजयी

 आवाज अनलाइन     ८ फाल्गुन २०७५, बुधबार

दोलखा, फागुन ८

दोलखा सदरमुकाम चरिकोटमा ३ नम्बर प्रदेशस्तरीय महिला भलिबल छनोट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा दोलखाले काभ्रपलाञ्चोकलाई पराजित गरेको छ ।
आज भएको पहिलो खेलमा दोलखाले काभ्रेलाई सोझो सेटमा पराजित गरेको हो । दोलखाले २५–२० र २५–१३ को सोझो सेटमा काभ्रेलाई पराजित गरेको हो । यो खेलको उत्कृष्ट खेलाडी दोलखाली टिमकी बन्दना बस्नेत भएकी छन् ।
यसैगरी आज भएको अर्को खेलमा भक्तपुरले धादिङलाई पराजित गरेको छ । भक्तपुरले २५–१४, १८–२५ र २५–१८ को सेटमा धादिङलाई पराजित गरेको हो । यो खेलको उत्कृष्ट खेलाडी भक्तपुरकी विनिका शिल्पकार भएकी छन् ।
त्यस्तै अर्को खेलमा ललितपुरले सिन्धुलीलाई सोझो सेटमा पराजित गरेको छ । ललितपुरले २५–१७ र २५–१० को सेटमा सिन्धुलीलाई पराजित गरेको हो । यो खेलमा ललितपुरकी प्रमिला लामा उत्कृष्ट खेलाडी भइन् ।
त्यसैगरी आज भएको अन्तिम खेलमा रामेछापले नुवाकोटलाई सोझो सेटमा पराजित गरेको छ । उसले २५–४ र २५–६ को सोझो सेटमा नुवाकोटलाई पराजित गरेको हो । यो खेलमा रामेछापकी सुनिता गौतम उत्कृष्ट खेलाडी भएकी छन् ।
प्रदेश खेलकुद परिषद्, प्रदेश नम्बर ३ काठमाडौँको आयोजना र जिल्ला विकास समिति दोलखाको सहआयोजनामा भएको छनोट खेलको उद्घाटन बुधबार प्रदेश सभाका सांसद् पशुपति चौलागाईँले गरेका छन् ।
५ नम्बर प्रदेशको नेपालगन्जमा हुन गइरहेको आठौं राष्ट्रिय खेलकुद २०७५ मा ३ नम्बर प्रदेशको तर्फबाट सहभागी गराउने खेलाडीहरु छनोट गर्नका लागि खेल खेलाइएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष हिरा थोकरले जानकारी दिए ।
फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर ३ का दोलखा, रामेछाप , सिन्धुली, मकवानपुर, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र धादिङ जिल्ला गरी ११ जिल्ला सहभागी भएका छन् । यो प्रदेशको रसुवाले छनोट खेलमा भाग लिएको छैन् ।
लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने खेलमा प्रथम, द्वितीय र तृतीयलाई सिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिने अध्यक्ष हिरा थोकरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
छनोट प्रतियोगिताका संयोजक तथा प्रदेश खेलकुद परिषद् प्रदेश नम्बर ३ का सदस्य उमेश केसीले सहभागी टिमबाट उत्कृष्ट खेलाडीहरु छानेर १२ जनाको एउटा टिम बनाउने बताए ।
उनका अनुसार छनोट गरिएका खेलाडीलाई ७ दिनसम्म ‘क्लोज क्याम्प’मा राखेर आठौँ राष्ट्रिय खेलकुद २०७५ मा सहभागी गराइनेछ । खेलाडीहरुलाई आउनेजाने र खान बस्नको व्यवस्था रष्ट्रिय खेलकुद परिषदले गरेको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।