दोलखामा आपराधिक घटना न्यूनीकरण

 आवाज अनलाइन     ९ फाल्गुन २०७५, बिहीबार

दोलखा, फागुन ९

दोलखामा अघिल्ला वर्षहरुको तुलनामा आपराधिक घटनाहरुमा कमी भएको छ । आज दोलखा सदरमुकाम चरिकोटमा भएको नागरिक सुनुवाइको क्रममा प्रस्तुत तथ्यांकले दोलखामा आपराधिक घटनामा कमी भएको तथ्य सार्वजनिक भएको हो ।
विगतका तीन वर्षहरुमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाहरुको संख्याको तुलानमा यो वर्ष निकै घटेको तथ्यांकले देखाएको छ । आव ०७२/०७३ मा १७३, ०७३/०७४ मा १८९ र ०७४/०७५ मा २५१ मुद्दा दर्ता भएकोमा यो आवमा १०९ मुद्दा मात्रै दर्ता भएका छन् । अघिल्ला आर्थिक वर्षमा आत्महत्या घटना ६२ वटा भएकोमा यो वर्ष २४ वटा मात्रै भएको तथ्यांक सार्वजनिक भएको छ । त्यसैगरी अघिल्लो वर्ष सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको संख्या १४ भएकोमा यो आर्थिक वर्षमा ४ जनाले मात्रै ज्यान गुमाएका छन् । त्यस्तै जवर्जस्ती करणीको मुद्दा ०७२/०७३ मा १४, ०७३/०ं७४ मा १० र ०७४/०७५ मा १२ वटा भएकोमा यो आर्थिक वर्षमा ५ वटा मात्रै घटना दर्ता भएका छन् ।
‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ
दोलखामा समुदाय र प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएपछि आपराधिक गतिविधिमा कमी आएको दोलखा प्रहरीको ठम्याइ छ । दोलखा प्रहरीको तथ्यांकअनुसार अघिल्लो वर्ष दोलखामा चोरीको ३७ वटा घटना भएकोमा यो वर्ष १२ वटा मात्रै चोरीका घटना भएको बताइएको छ । तर चोरीका सबै घटनामा बालबालिका मात्रै संलग्न भएको अनुसन्धानले देखाएपछि प्रहरी आश्चर्यमा परेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताउँछन् ।
संसारमा आपराधिक घटना नहुने ठाउँ कही छैन, प्रनाउ पाठक भन्छन्, तर दोषी पत्ता लगाएर कारबाही गर्नु मुख्य कुरा हो । उनी थप्छन्, दोलखामा यो वर्ष दर्ता भएका १०९ मुद्दाका १२१ दोषीमध्ये ११६ जना अर्थात ९७% लाई कानुनी दायरामा ल्याउनु प्रहरीको सफलता हो । प्रहरीको सफलतामा स्थानीय समुदायको भूमिका आवश्यक र महत्वपूर्ण हुने उनको ठहर छ । समुदायका सदस्यहरुले समयमै दिएको सही सूचनाले अपराधी पत्ता लगाउन प्रहरीलाई सघाउ पुग्ने उनको धारणा छ । प्रहरीेले महिला हिंसा विरुद्ध सञ्चालन गरेको फाइट ब्याक अभियानको मुलुकभर प्रभाव परेको र सकारात्मक परिणाम आएको प्रनाउ पाठकले जानकारी दिए ।
जिल्लामा आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरीले सञ्चालन गरेको प्रवद्र्धनात्मक कार्यक्रम पनि प्रभावकारी भएको छ । यसका लागि दोलखा प्रहरीले दोलखा जिल्लाका विभिन्न विद्यालयहरुमा महिला हिंसा विरुद्धको फाइट ब्याक अभियान, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अवैध मदिरा तथा लागू औषध र जुवातास नियन्त्रणका कार्यक्रमहरु गर्दै आएको छ । त्यसैगरी स्थानीय तह, विभिन्न संघसंस्थाहरु र नागरिकहरुसँग समन्वयमा विभिन्न गतिविधिहरु गर्दै आएको छ ।
आज दोलखा सदरमुकाम चरिकोटमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा स्थानीय जनता, जनप्रतिनिधि, उद्यमीव्यवसायी तथा सञ्चारकर्मीहरुले पछिल्लो समय आपराधिक क्रियाकलापमा भएको नियन्त्रणमा स्थानीय प्रशासनको भूमिकाको प्रशंसा गरेका थिए ।
नागरिक सुनुवाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, सशस्त्र प्रहरी चरिकोट गुल्म प्रमुख प्रहरी नायव उपरीक्षक किरणकुमार कठायत, गाउँपालिका राष्ट्रिय महासंघ, प्रदेश ३ का अध्यक्ष ईश्वरचन्द्र पोखरेल, भीमेश्वर नगरपालिका विभिन्न वडाहरुका अध्यक्षहरु, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की लगायतको सहभागिता थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।