अब लप्चीबाहेक दोलखाका सबै ठाउँमा दूरसञ्चार सेवा

 आवाज अनलाइन     १३ फाल्गुन २०७५, सोमबार

दोलखा, माघ १२

दोलखा जिल्लाको अत्यन्त दुर्गम लप्चीबाहेक सबै ठाउँमा मोबाइल टेलिफोन सेवा सञ्चालन गरिएको छ । आजदेखि गौरीशंकर गाउँपालिकाको खारेमा नेपाल टेलिकमको मोबाइल टावर सञ्चालनमा ल्याइएपछि जिल्लाको सबैजसो ठाउँमा दूरसञ्चार सेवा पुगेको हो ।
गौरीशंकर गाउँपालिकाको खारेडाँडामा नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन गरिएपछि त्यसबाट गौरीशंकर गाउँपालिकाकै खारे, चंखु, मार्बू, सुरी लगायतका साविक गाविस र विगु गाउँपालिकाको साविकका लामाबगर, ओराङ, बुलुङ र लादुक गाविसमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिए ।
दोलखा जिल्लाको पनि विद्युत उत्पादनको हब मानिएको यो क्षेत्रमा मोबाइल सेवा सञ्चालन भएपछि सम्बद्ध धेरै सेवाग्राहीले लाभ लिन सक्ने टेलिकम दोलखा प्रमुख अर्यालले बताए । यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको क्षेत्र पनि हो ।
यसअघि नेपाल टेलिकमले शैलुङ गाउँपालिकाको मागादेउराली बाघखोर, जिरी नगरपालिकाको श्यामा, गौरीशंकर गाउँपालिकाकै बेदिङ, प्रसिद्ध कालिन्चोक मन्दिर लगायतका ठाउँहरुमा मोबाइल सेवाको लागि टावर सञ्चालनमा ल्याइसकेको छ ।
दोलखामा अहिले नेपाल टेलिकमका मात्रै करिब एक लाख २५ हजार मोबाइल प्रयोगकर्ता रहेको टेलिकम दोलखाका प्रमुख अर्यालले जानकारी दिए । त्यसैगरी जिल्लाको चरिकोट, दोलखा, जिरी, मैनापोखरी, सिँगटी, लामाबगर, मागादेउराली लगायतको ठाउँहरुमा गरी करिब २ हजार ल्याण्डलाइन टेलिफोन सेवा समेत सञ्चालनमा छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF