विद्यार्थीहरुलाई सुरक्षा र ट्राफिकसम्बन्धी सचेतना

 आवाज अनलाइन     १७ फाल्गुन २०७५, शुक्रबार

दोलखा, फागुन १७

विद्यार्थीलाई सुरक्षा सावधानी र ट्राफिक सम्बन्धी जनचेतना दिने उद्देश्यले प्रहरीसँग एक दिन कार्यक्रम सञ्चालन गरिएको छ ।
यो क्रममा आज कालिन्चोक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयमै लगी सचेनता कार्यक्रम सञ्चालन गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज कालिन्चोक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई चेतनामूलक कक्षा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले ती विद्यार्थीहरुलाई सडकमा हिँड्दा ट्राफिक नियम पालना गर्नुपर्ने, अभिभावकको स्वीकृतिबेगर बाहिर जान नहुने, अपरिचित व्यक्तिले दिएको खानेकुरा खान नहुने, आगो र पानी तथा धारिलो हतियारसँग खेल्न नहुने, कुनै घट्ना भए तुरुन्त प्रहरीलाई खवर गर्नुपर्ने लगायतका विषयमा जानकारी गराएका थिए ।
यसका साथै विद्यार्थीहरुलाई प्रहरी कन्टोल रुम, हिरासत कक्ष, सञ्चार शाखा, महिला तथा बालकालिका सेल, जिल्ला अदालत, कारागार, दैवी प्रकोप उद्दार साम्राग्री समेत अवलोकन गराई उनीहरुको विभिन्न जिज्ञासाहरुको समाधान गर्ने प्रयास गरिएको थियो । विद्यार्थीहरुले १०० मा आउने फोन र यसको कार्वाही प्रक्रियाको बारेमा चासो व्यक्त गरेका थिए ।
अबलोकन तथा चेतनामूलक उक्त कार्यक्रममा कालिन्चोक माविका करिब ६५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । यसअघि पशुपति कन्या माविका ७२ जना विद्यार्थीहरुलाई यस प्रकारको अवलोकन तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF