भीमेश्वर नगर मेयरकप क्रिकेटको उद्घाटन खेलमा कालिन्चोक ‘ए’ विजयी

 आवाज अनलाइन     १७ फाल्गुन २०७५, शुक्रबार

दोलखा, फागुन १७

दोलखा सदरमुकाम चरिकोटस्थित टुँडिखेलमा भीमेश्वर मेयरकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कालिन्चोक मावि ‘ए’ले कालिन्चोक मावि ‘बी’ लाई पराजित गरेको छ ।
दोलखामा पहिलो पटक भएको माध्यमिक विद्यालयस्तरीय मेयरकप क्रिकेटको उद्घाटन खेलमा टस जितेर व्याटिङ रोजेको कालिन्चोक मावि ‘ए’ ले कालिन्चोक ‘बी’लाई १९८ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रिएको कालिन्चोक ‘बी’ १३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटियो । यसरी कालिन्चोक ‘ए’ समूह ७१ रनले विजयी भयो ।
कालिन्चोक ए का लागि देवकुमार थामीले सर्वाधिक १०७ रनको योगदान गरे । त्यसैगरी कालिन्चोक ए कै लागि गौरव गुरुङ र सुजन श्रेष्ठले ४÷४ विकेट लिएका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका थिए ।
उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उपकप्तान मल्लले जुनसुकै खेलको लागि पनि खेल मैदान र अन्य आवश्यक सामग्री भन्दा पनि निरन्तरता आवश्यक हुने बताए । राष्ट्रिय क्रिकेट टिमका उपकप्तान मल्लले क्रिकेटको सम्भावना पहाडी जिल्लामा पनि त्यतिकै रहेको र दोलखामा झन बढी सम्भावना रहेको देखिएको बताए ।
महिला राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक राजु क्षेत्रीले क्रिकेट खेलमा पहाडी भेगका खेलाडीको समेत आकर्षण बढ्दै गएकोमा खुशी व्यक्त गरे । उनले दोलखा लगायतको पहाडी जिल्लामा क्रिकेट प्रशिक्षणको लागि आफूले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिका दोलखाका प्रमुख भरत केसी, जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगीतामा जिल्लाका बिभिन्न ७ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता भीमेश्वर नगरपालिकाको आयोजना तथा क्रिकेट संघ दोलखाको सहआयोजनामा भएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF