बस दुर्घटनाका गम्भीर घाइते ९ जना काठमाडौँ रिफर

 आवाज अनलाइन     १ चैत्र २०७५, शुक्रबार

दोलखा, चैत १

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामदार बोकेको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका ९ जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।
गम्भीर घाइते ५ जनालाई हेलिकप्टरबाट र अन्य ४ जनालाई एम्बुलेन्सबाट थप उपचारको लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी बल, चरिकोट गुल्मले जानकारी दिइको छ ।
काठमाडौँ रिफर गरिएका र हेलिकप्टरबाट पठाइएका घाइतेहरुमा कञ्चनपुर जिल्ला कञ्चनपुर नगरपालिका २ का २० वर्षीय देवसिंह चौधरी, लमजुङ जिल्ला घर भएका २५ वर्षीय सुरज लामा र वर्दिया जिल्ला ठाकुरद्वारा नगरपालिका १ का २३ वर्षीय दिनेश सुनुवार रहेका छन् । चौधरी र लामाको आँखा र टाउकोमा चोट लागेको छ भने सुनुवारको भित्री चोट रहेको छ । त्यसैगरी चालक कालिन्चोक गाउँपालिका, सुन्द्रावतीका सुदीप शिवाकोटी, वीरेन्द्रनगर ७, सुर्खेतका प्रेम आचार्यलाई पनि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
त्यसैगरी एम्बुलेन्सबाट काठमाडौँ पठाइएका घाइतेहरुमा कञ्चनपुर नपा २ का सुनिल राना, ठाकुरद्वारा नपा ६, बर्दियाका मायाराम थारु, ठाकुरद्वारा ६, वर्दियाका ५० वर्षीय बुद्धिप्रसाद चौधरी, ठाकुरद्वारा नपा २ का बुद्धिराम चौधरी रहेका छन् ।
अन्य घाइतेहरु च्छोरोल्पा हस्पिटल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी डिस्चार्ज भएको सशस्त्र प्रहरी बल, चरिकोट गुल्मपति प्रहरी नायव उपरीक्षक किरणकुमार कठायतले जानकारी दिएका छन् ।
दुर्घटनामा सामान्य घाइते भएकाहरुको रोल्वालिङ सामुदायिक अस्पताल, सिँगटीमा उपचार भैरहेको पनि प्रहरीले जानकारी दिएको छ
आज विहान करिब ७ः३० बजे छ्योतछ्योतस्थित चीनीया क्याम्पबाट कामदार लिएर आयोजनाको मुख्य सुरुङतर्फ जाने बाटोको लुप सेभेनबाट करिब १५ मिटर तल भिरमा खसेर बस दुर्घटना भएको थियो ।
रोल्वालिङ यातायातको बा ४ ख ४५७३ नं को सो दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । सुर्खेत जिल्ला चौकुने गाउँपालिका घर भएका ३८ वर्षीय दिनेश थापा र लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका ३ घर भएका ४४ वर्षीय हिराप्रसाद मिजार मृत्यु भएको हो ।

तस्विर सौजन्यः सशस्त्र प्रहरी बल, चरिकोट गुल्म

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।