नेपालीको ‘हस्पिटालिटी’ ले तान्छ, जापानीलाई

 आवाज अनलाइन     १ चैत्र २०७५, शुक्रबार

दोलखा, चैत १

वाकाना हारिमा, २२ वर्ष, जापान । उनी नेपाल आएको तेस्रो पटक भयो । उनलाई अझै नेपाल आउने रहर पुगेको छैन । उनलाई नेपाल आइरहन मन लाग्ने कारणहरु थुप्रै छन्, तर सबैभन्दा महत्वपूर्ण कारण चाहिँ यहाँको ‘हस्पिटालिटी’ नै हो ।
दुई वर्षअघि उनी नेपाल आउँदा दोलखा आउने अवसर मिल्यो उनलाई । दोलखाको एउटा परिवारमा बस्दा उनी यहाँको संस्कृतिसँग निकै प्रभावित भइन् । ‘कति राम्रो ‘हस्पिटालिटी’, कति राम्रो बानीव्यबहार ।’, उनले भनिन्, ‘हाम्रो देशमा यति निस्वार्थ सत्कार पाइँदैन, सहयोगको बदला सहयोगको अपेक्षा गरिन्छ ।’


‘परिवारका सबै सदस्य सँगै बसेर खाना खाने कति रमाइलो संस्कृति ।’ उनले भनिन्, ‘हाम्रो देशमा यसरी परिवारका सदस्य एकै ठाउँ बसेर खाना खाने संस्कृति नै लोप भैसक्यो ।’
आकिता इन्टरनेसनल युनिभर्सिटी, जापानमा स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दै गरेकी वाकाना सोही कलेजमा पढ्ने आफ्ना साथी माकितो कोचिहिरासँग २ वर्षअघि पहिलोपटक आएकी हुन् ।


माकितोसँगै आएकी मोय होण्डा पनि नेपाली संस्कृति र ‘हस्पिटालिटी’सँग निकै प्रभावित छिन् । आकिता इन्टरनेसनल युनिभर्सिटीमा स्नातक तह पहिलो वर्षमा अध्ययन गर्ने होण्डा नेपाल पहिलोपटक आएकी हुन् । उनले नेपालका सामुदायिक विद्यालयका विद्यार्थीहरुको समेत ‘हस्पिटालिटी’ राम्रो भएको बताइन् । नेपालको सामुदायिक विद्यालयका विद्यार्थीहरुमा छिट्टै घुलमिल हुने गुण भएको उनले पाएकी छन् । ‘यहाँका विद्यार्थीहरु पहिलो भेटमै नजिक हुने’, उनले भनिन्, ‘जापानका विद्यार्थीहरु धेरैचोटिको भेटपछि मात्रै यति नजिक हुन्छन् ।’
यी विद्यार्थीहरुलाई नेपाल ल्याउने माकितो भने ७ वर्षअघिदेखि नेपाल आइरहेका छन् । आफू पहिलोपटक नेपाल आउँदा नेपालको संस्कृति, नेपालीको बानी व्यवहारबाट प्रभावित भएर जापानी विद्यार्थीहरुलाई नेपालको सांस्कृति अध्ययनका लागि लिएर आउन थालेको माकितो बताउँछन् । ‘नेपाल र जापानको सबै कुरामा १८० डिग्रीको फरक छ ।’ माकितोले भने, ‘हामी नेपालीहरुको पारिवारिक वातावरण, नेपाली जीवनशैलीको अनुभव गर्न चाहन्छौँ ।’ नेपाली भाषा राम्रोसँग जानेका माकितोले वर्षैपिच्छे आकिता इन्टरनेसनल युनिभर्सिटीका स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी लिएर आउने गरेका छन् ।

यो वर्ष उनीहरुले दोलखा सदरमुकामको कालिन्चोक मावि र पशुपति कन्या माविका विद्यार्थीहरुसँग सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्न रोजेका छन् । माकितो सहित १३ जनाको संख्यामा आएका ती जापानिज विद्यार्थीहरुको समूहले कालिन्चोक मावि र पशुपति कन्या माविका विद्यार्थीहरुलाई आफ्नो देशको खाना, सङ्गीत तथा नृत्य र वातावरण संरक्षण गर्ने संस्कृतिको बारेमा प्रस्तुती गरेका थिए ।
उनीहरुले जापानी भाषाको गीतमा कालिन्चोक माविका विद्यार्थीहरुलाई नचाएका थिए भने ‘पर्खपर्ख मायालु, म पनि त जाऊँला …..’ गीतको बोलमा उनीहरु नाचेर दोलखाली विद्यार्थीहरुलाई चकित बनाएका थिए ।


उनीहरुले दोलखाको ५ दिनको बसाइमा विद्यालयका विद्यार्थीहरुका साथै उनीहरुलाई दोलखा ल्याउन नेतृत्व गर्ने भीमेश्वर नगरपालिका ३ का देवेन्द्र अधिकारीको समुदायमा आफ्नो समय खर्चिएका थिए । त्यो समुदायमा बस्दा उनीहरुले परिवारसँगै बसेर खाना बनाउने, परम्परागत खेतीपाती तथा पशुपालनसम्बन्धी कार्यको अनुभव गरेका थिए ।
यो सँगै उनीहरुले नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्र कालिन्चोक भगवती मन्दिरको भ्रमण समेत गरेका थिए । कालिन्चोकको भ्रमणपछि उहीहरुले अत्यन्त सुन्दर ठाउँको भ्रमण गर्न पाएकोमा आफूहरु खुशी भएको बताए ।
दोलखाको सांस्कृतिक भ्रमणपछि वाकानाले भनिन्, ‘अब त म अर्कोपटक जापानी विद्यार्थिहरुको नेतृत्व गरेर नेपाल आउँछु, अनि दोलखा पनि ।’

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF