दोलखा प्रशासनमा श्रव्यदृश्य माध्यममा नागरिक बडापत्र

 आवाज अनलाइन     ४ चैत्र २०७५, सोमबार

दोलखा, चैत ४

सबै सेवाग्राहीहरुलाई कार्यालयबाट दिइने सेवा लिन सजिलो हुनेगरी जिल्ला प्रशासन कार्यालय दोलखामा श्रव्यदृश्य माध्यमबाट नागरिक बडापत्र प्रस्तुत गर्न थालिएको छ ।
हुराडेक नेपाल, दोलखाको आर्थिक तथा प्राविधिक सहयोगमा हिजोदेखि जिल्ला प्रशासन कार्यालय दोलखामा श्रव्यदृश्य माध्यमबाट नागरिक बडापत्र प्रसारण गर्न थालिएको हो । श्रव्यदृश्य माध्यमबाट नागरिक बडापत्र प्रसारण गरिएको दोलखाको यो पहिलो कार्यालय हो ।
हुराडेक नेपाल, दोलखाले श्रव्यदृश्य माध्यमबाट कार्यालयले प्रदान गर्ने सेवाको बारेमा श्रव्यदृश्य सामग्री तयार पारेको र त्यसको प्रसारणको लागि टेलिभिजन सेटसमेत जडान गरिदिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । हिजोदेखि सुरु गरिएको सेवाबाट पढ्न, देख्न र सुन्न नसक्ने सेवाग्राहीहरु लाभान्वित हुने प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।
कार्यालय समयमा प्रसारण गरिने नागरिक बडापत्र एकोहोरो प्रसारण गर्दा सेवाग्राहीहरुलाई दिक्क लाग्न सक्ने भएकोले बेलाबेलामा वृत्तचित्र तथा टेलिचलचित्र लगायतका चेतनामूलक श्रव्यदृश्य सामग्रीहरु पनि प्रसारण गरिने योजना रहेको उनले बताए ।
देख्न, सुन्न र पढ्न असमर्थ सेवाग्राहीहरुलाई लक्षित गरी नमूनाको रुपमा जिल्ला प्रशासन कार्यालय दोलखामा श्रव्यदृश्य माध्यमको नागरिक बडापत्र राखिएको हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकले जानकारी दिए । हुराडेकको कार्यक्षेत्रमध्ये रामेछाप र दोलखामा नमुनाको रुपमा राखिएको हुराडकका अध्यक्ष पाठकले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।