दोलखामा एसईई परीक्षा शान्तिपूर्ण, ३३ सय सहभागी, ३७ ले छाडे

 आवाज अनलाइन     १० चैत्र २०७५, आईतवार

दोलखा, चैत १०

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
दोलखाबाट नियमित र ग्रेड बृद्धि गरी ३३ सय ३ जना परीक्षार्थीहरु परीक्षामा सम्मिलित हुनका लागि आवेदन दिएका थिए । तर तीमध्ये ३७ जनाले परीक्षा छाडेका छन् ।
जिल्लाका १९ वटा परीक्षाकेन्द्रबाट नियमिततर्फ ३२ सय ६२ र ग्रेड बृद्धितर्फ ४१ गरी जम्मा ३३ सय ३ जना परीक्षार्थीहरु परीक्षामा सम्मिलित भएको शिक्षा विकास तथा समन्यव इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए । नियमिततर्फ १८ सय १ छात्रा तथा १४ सय ६१ छात्र छन् भने ग्रेड बृद्धितर्फ १६ छात्रा र २५ छात्र सहभागी छन् । यी परीक्षा कार्यक्रममा सम्मिलित परीक्षार्थीहरुमध्ये नियमित र ग्रेड बृद्धि गरी ३७ जनाले परीक्षा छाडेका छन् । परीक्षा छाड्नेहरुमा नियमिततर्फका २० जना छात्रा र ११ जना छात्र छन् भने ग्रेड बृद्धितर्फका ३÷३ जना छात्रछात्राहरु रहेका छन् ।
निर्धारित हाजिर नपुगेपछि जिल्लाभरका १५ जना परीक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको इकाइ प्रमुख श्रेष्ठले जानकारी दिए । अहिले परीक्षामा सहभागी हुन ७५ प्रतिशत हाजिरी अनिवार्य गरिएको छ ।
यो वर्ष दोलखाबाट एकजना नेत्रहिन परीक्षार्थी परीक्षा दिईरहेको इकाइले जानकारी दिएको छ । सदरमुकाम चरिकोटस्थित कालिन्चोक माध्यमिक विद्यालयकी लक्ष्मी खड्काले भीमेश्वर नगरकै कुटीडाँडा माध्यमिक विद्यालयबाट सहयोगी राखेर परीक्षा दिइरहेको कुटीडाँडा परीक्षा केन्द्रका केन्द्राध्यक्ष शंकरलाल श्रेष्ठले जानकारी दिए ।
जिल्लामा ८४ वटा सामुदायिक विद्यालय, १२ वटा संस्थागत विद्यालय र दुईवटा प्राविधिक धारका विद्यालयहरु रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।