जन्मजात अपाङ्गलाई गाउँमै नागरिकता

 आवाज अनलाइन     २३ चैत्र २०७५, शनिबार

दोलखा, चैत २३

दोलखा जिल्ला गौरीशंकर गाउँपालिका १ चेतपुका जन्मजात अपाङ्गता भएका एक युवकले आफ्नै गाउँमा नागरिकता पाएका छन् ।
अपाङ्गता भएका कारण सदरमुकाम चरिकोट गई नागरिकता लिन नपाएका गौरीशंकर गाउँपालिका १ चेतपुका दिनेश जिरेललाई जिल्ला प्रशासन कार्यालय दोलखाले सञ्चालन गरेको घुम्ती शिविरमा प्रदेशसभा सांसद् विशाल खड्का र दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले संयुक्त रुपमा नागरिकता हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय दोलखाले सञ्चालन गरेको घुम्ती शिविरमा चेतपुका १८ वर्षीय दिनेश जिरेलले नागरिकता पाएका हुन् । हिँडडुल गर्न र बोल्न समेत नसक्ने दिनेशले नागरिकता पाएपछि उनी मुस्कुराएका थिए ।
‘छोरालाई आफूले सदरमुकाम चरिकोट लगेर नागरिकता दिउँला भन्ने त लागेको थियो ।’ छविलालले भने, ‘तर लैजान गारो हुन भएकोले लगेको थिइँन, आज गाउँमै नागरिकता बन्यो, धेरै खुशी लागेको छ ।’ दिनेशले मतदाता परिचयपत्रको लागि फोटो समेत खिचाएका छन् ।
जन्मँदै उनको हात गोडा लुलो भएको र पछि उनी बोल्न पनि नसक्ने भएको उनका बाबु छविलाल जिरेलले बताए । बोल्न नसक्ने भए पनि कुरो सुन्ने र बुझ्ने गरेको उनका बाबु छविलाल बताउँछन् । ‘बोल्न सक्दैन तर कुरो चाहिँ बुझ्छ’, उनका बाबु छविलालले भने, ‘शरीर नचल्ने भएकोले उसको स्याहारमा एक जना खटिरहनुपर्छ ।’
देब्रे हातले विस्तारै र कष्टसाथ खानेकुरा खान बाहेक केही गर्न नसक्ने उनलाई उपचारको लागि छविलालले काठमाडौँका विभिन्न अस्पतालहरुमा पु¥याए । तर उनको रोग पत्ता लागेन । डाक्टरले उनलाई घरै लैजान सल्लाह दिँदै हातगोडामा मालिस गरिदिन अ¥हाए । छविलालले केही समय मालिस गरे तर मालिसको कुनै असर नदेखिएपछि मालिस गर्न पनि छाडिदिए । ‘कति मालिस गर्नु, निको हुँदैन’, छविलालले भने, ‘बुढो भैसक्यो अब त मालिस गर्न पनि छाडिदिएँ ।’ अब उसको जीवन भगवान भरोसामा रहेको उनले दुःखेसो सुनाए ।
छविलालका २ छोरा र ३ छोरीहरु छन् । छोरामध्येको कान्छो दिनेशमा अपाङ्गता भए पनि अरु सबलाङ्ग छन् ।
नीलकण्ठेश्वर मावि, जुँगुमा सञ्चालित एक दिवसीय उक्त शिविरमा २० जनाले नागरिकता लिए भने २१ जनाले मतदाता परिचयपत्रका लागि फोटो खिचाएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।